अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको गण्डकी प्रदेश फुटबल संघले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कास्कीको माछापुच्छ्रे गाँउपालिकाको भिडावारीमा बनाउन प्रस्ताव गरिएको एन्फा बहुउद्देश्यीय टेक्निकल सेन्टरको विषयमा ध्यानाकर्षण गराएको छ।
एन्फामा नयाँ नेतृत्व चुनिएको एक वर्ष बित्न लाग्दा समेत महत्वपूर्ण परियोजना संचालनको एजेन्डा प्राथमिकतामा नपर्नु र परियोजना संचालनका लागि अगाडि नबढाइदा गण्डकी प्रदेशअन्तर्गतका फुटबल संघलाई चिन्तित बनाएको मुख्यमन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ।
साथै टेक्निकल सेन्टर निर्माण के कारणले अघि बढ्न नसकेको हो सोको छानविन गरी परियोजना अघि बढाउन राष्ट्रिय खेलकुद परिषद गण्डकी प्रदेशमार्फत् एन्फामा पहल गरी परियोजना अघि बढाउन अनुरोध गरिएको छ।
गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष लोकेन्द्र गुरुङले हस्ताक्षर गरेको पत्र बुझाउन एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पनि उपस्थित भएका थिए।