इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
शहरी प्रतिद्वन्द्वी एसी मिलानमाथि समग्रमा ३-० गोलको जित निकाल्दै इन्टर उपाधि नजिक पुगेको हो।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो खेलमा इन्टरले एसी मिलानमाथि १-० गोलको जित निकाल्यो। इन्टरका लागि मार्टिनेजले ७४ मिनेटमा गोल गरेका थिए।
अघिल्लो साता भएको पहिलो लेगमा इन्टर २-० गोलले विजयी भएको थियो।
इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।
अब उपाधिका लागि इन्टरले आगामी जुन १० मा टर्कीको इस्तानबुलमा हुने फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी वा स्पेनिस क्लब रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।
रियल र सिटीबीच आज राति सेमिफाइनलको दोस्रो लेग हुँदैछ। रियलको मैदानमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो।