युरोपियन च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति १२:४५ मा सिटीको मैदानमा हुनेछ।
गत साता रियलको मैदानमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो।
म्यानचेस्टर सिटी ट्रेबल (इंग्लिस प्रिमियर लिग, इंग्लिस एफए कप र च्याम्पियन लिग) जित्ने अभियानमा छ।
तर च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियल म्याड्रिड सिटीका लागि सबैभन्दा ठूलो चुनौती हो। रियल १५औं पटक युरोपियन च्याम्पियन बन्ने अभियानमा छ।
च्याम्पियन्स लिगको उपाधि रियलका आफ्नो प्रतिष्ठा हो। तर सिटी अहिलेसम्म पनि युरोपको च्याम्पियन बन्न सकेको छैन।
सिटीका प्रशिक्षक पेप गार्डिओलाका लागि सिटीलाई च्याम्पियन्स लिग जिताउनु नै प्रमुख लक्ष्य बनेको छ।
गार्डिओलाले स्पेनिस क्लब बार्सिलोनाबाट २००९ र २०११ मा प्रशिक्षकको रूपमा दुई च्याम्पियन्स लिग जितेका छन्।
‘मैले खेलाडीहरूलाई यस क्षणको आनन्द लिन भनेको छु,’ सिटीका प्रशिक्षक गार्डिओला भन्छन्, ‘यो हाम्रो हातमा छ, हामीमा निर्भर गर्दछ, हामीले असाधारण केहि गर्नु पर्दैन - फाइनल पुग्नको लागि केवल एक खेल जिते पुग्छ।’
सिटी र रियलबीचको विजेताले उपाधिका लागि १० जुनमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ।
इन्टरले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३-० गोलले हराएर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको थियो।
तथ्यांकसम्बन्धि काम गर्ने ओप्टाका अनुसार पछिल्ला २२ खेलसम्म अपराजित रहेको म्यानचेस्टर सिटीको फाइनलमा पुग्ने सम्भावना ६९% छ भने प्रतियोगिता जित्ने सम्भावना ४५% रहेको छ।
१५ औं पटक युरोपियन च्याम्पियन बन्ने रियलको सम्भावना १५ प्रतिशत रहेको उनीहरुको भनाइ छ।
सिटी प्रिमियर लिग उपाधिबाट एक जित टाढा छ। सिटी पछिल्लो ६ वर्षमा पाँचौ पटक इंग्लिस च्याम्पियन हुँदैछ। सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ।
२००८-०९ मा बार्सिलोनाबाट ट्रेबल जितेका गार्डिओलाले दुई वर्षअघि सिटीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए जहाँ सिटी चेल्सीसँग पराजित भएको थियो।
गत वर्ष सेमिफाइनलमा सिटीमाथि रियल म्याड्रिडले जित निकालेको थियो। सिटी गत वर्षको सेमिफाइनलमा रियलसँग समग्रमा ६–५ ले पराजित भएको थियो।
रियलले लगातार छैटौं च्याम्पियन्स लिगको नकआउट टाईका लागि इंग्लिस टोलीसँग खेलिरहेको छ। गत वर्ष चेल्सी र सिटीलाई पराजित गर्दै रियलले फाइनलमा लिभरपुललाई हराएको थियो।
सिटीका डिफेन्डर नाथन एके खेलका लागि उपलब्ध हुनेछैनन्।
म्याड्रिडका डिफेन्डर एडर मिलिटाओ पहिलो लेगको लागि निलम्बित भएपछि उपलब्ध छन्।
रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टोलीले इतिहाद रंगशालामा म्यानचेस्टर सिटीलाई पराजित गर्दै १० वर्षमा छैटौं पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्नका लागि तयार भएको बताएका छन्।
इटालियन प्रशिक्षकले चार पटक च्याम्पियन्स लिग जितेका छन्। उनले दुई दुई पटक एसी मिलान र रियल म्याड्रिडबाट उपाधि जितेका थिए।
‘खेल कठिन हुन गइरहेको छ तर कहिलेकाँही हामी कठिन परिस्थितिमा आफैंबाट धेरै फाइदा लिन सक्छौं,’ एन्सेलोटीले भने, ‘योजना पहिले जस्तै उस्तै छ। मलाई लाग्छ कि हामीले पहिलो लेगमा गरेको भन्दा राम्रो गर्न सक्छौं, तर मलाई लाग्छ उनीहरूले पनि गर्छन्।’