क्षमादेवी प्लानिङ ब्वाइज काठमाडौंले सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
धनकुटामा बुधबार भएको फाइनल भिडन्तमा प्लानिङ ब्वाइजले वीरगञ्ज युनाइटेडलाई ४-० गोलले पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै प्लानिङले ५ लाख तथा उपविजेता वीरगञ्जले २ लाख ५० हजार रूपैयाँ पुरस्कार जिते।
मंगलबारको लागि तय भएको फाइनल भारी वर्षाका कारण हुन नसकेपछि बुधबार भएको ह।
फाइनलमा बी डिभिजन क्लब प्लानिङ ब्वाइजका लागि नेपोलेनले दुई गोल गरे भने समिर थापा र विशाल दर्जीले एक एक गोल थपे।
सेमिफाइनलमा प्लानिङ ब्वाइज पेमा युवा क्लब विराटनगरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। वीरगञ्जले झापा फुटबल क्लबलाई पराजित गर्दै प्लानिङसँगको भेट पक्का गरेको थियो।