सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको पुछारमा रहेको एफसी खुमलटारले त्रिभुवन आर्मी क्लबलाई २-२ गोलको बराबरीमा रोकेको छ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा आर्मीका जगजित श्रेष्ठले १४ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।
३५ मिनेटमा खुमलटारका मेसउकेले बराबरी गोल फर्काउन सफल भए।
५१ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछि आर्मीले खेलमा दोस्रो पटक अग्रता लिएको थियो। तर ७५ मिनेटमा खुमलटारका स्टेफिन बिनोङले गोल गर्दै खेललाई दोस्रो पटक बराबरीमा ल्याएका थिए।
बराबरीसँगै आर्मीले २६ अंक जोडेको छ। आर्मी छैटौं स्थानमा छ। पुछार/१४औं स्थानको खुमलटारको १९ खेलबाट १८ अंक भएको छ।
यता एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पाले एपिएफ क्लबलाई ३-२ ले हरायो। ७ मिनेटमा खामिर र १८ मिनेटमा मुताम्बाले गोल गरेपछि शेर्पाले पहिलो हाफमा २-० को अग्रता लियो।
५१ मिनेटमा फाकुन्ले अर्को गोल गर्दा शेर्पा ३-० ले अघि रह्यो।
एपिएफका सनिस श्रेष्ठले ८७ मिनेट र युवराज खड्काले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेका थिए। तर त्यतिबेलासम्म उसलाई खेलमा फर्कन ढिला भइसकेको थियो।
जितसँगै शेर्पाले २५ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा उक्लियो। एपिएफ भने २२ अंकसहित दशौं स्थानमा झरेको छ।