सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ।
आइतबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्र २-० गोलले विजयी भयो।
मछिन्द्रको जितमा ओलावाले अफिजले गोल गरे। उनले खेलको १३ मिनेटमा गोल गरे।
मछिन्द्रका लागि दोस्रो गोल सौरभ लिम्बूले दोस्रो हाफको इन्जुरी टाइममा गरे।
जितसँगै मछिन्द्र अंक तालिकाको दोस्रो स्थानमा उक्लियो। मछिन्द्रले २० खेलबाट ३४ अंक जोड्न जोडेको छ। शीर्ष स्थानको चर्च ब्वाइजको १९ खेलबाट ३६ अंक छ। तेस्रो स्थानको जावलाखेल युथको १९ खेलबाट ३२ अंक छ।
यता दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले २-२ गोलको बराबरी खेलेका छन्।
मनाङले लिगमा पछिल्ला ६ खेलमा बराबरी खेलिसकेको छ। पछिल्लो पटक मनाङले त्रिभुवन आर्मीलाई १-० गोलले हराएको थियो।
त्यसपछि सातदोबाटोसँग गोलरहित, पुलिससँग २-२, हिमालयन शेर्पासँग १-१, जावलाखेलसँग २-२ र संकटासँग २-२ गोलको बराबरी खेलेकको थियो। आज एपिएफसँग २-२ गोलको बराबरीमा रोकिएसँगै मनाङ लगातार ६ खेलमा बराबरीमा रोकियो।
खेलको १३ मिनेटमा कोफीले गोल गरेर मनाङलाई अग्रता दिलाए। २० मिनेटमा नवीन लामाले एपिएफका लागि बराबरी गोल गरे।
२६ मिनेटमा सुमित श्रेष्ठले अर्को गोल गर्दा मनाङले खेलमा दोस्रो पटक अग्रता लियो।
दोस्रो हाफमा एपिएफले बराबरी गोल गर्न सफल भयो। ६५ मिनेटमा अर्मान्डले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो।
अंक तालिकामा मनाङ २४ अंकसहित आठौं स्थानमा छ। एपिएफ २३ अंकसहित दशौं स्थानमा छ।