भारतीय महिला लिगमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी साम्बाले फेरि अर्को सिजन आफ्नो उत्कृष्ट खेल देखाएकी छिन्।
आइतबार सकिएको सिजन २०२२-२३ मा साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलाले लगातार तेस्रो सिजन उपाधि जित्न सफल भयो। आइतबार भएको फाइनल भिडन्तमा किकस्टार्टलाई ५-० गोलले पराजित गर्दै गोकुलम लगातार तेस्रो सिजन महिला लिग च्याम्पियन बन्यो।
यो सिजन साम्बाले १० खेलमा २९ गोल गर्न सफल भइन्। उनले भारतीय महिला लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने बालादेवी (मणिपुर पुलिस- २६ गोल- सिजन २०१९-२०) को कीर्तिमान समेत तोड्न सफल भइन्।
तीव्र गतिमा कुद्ने र उत्कृष्ट फिनिसिङ गर्ने साम्बाले यो सिजन पाँच खेलमा ह्याट्रिक गरिन्। चार खेलमा प्लेयर अफ दि म्याचको अवार्ड जितेकी साम्बाले मुम्बई नाइट्सविरुद्धको खेलमा सात गोल गरेकी थिइन्। सो खेलमा गोकुलम ११-१ गोलले विजयी भएको थियो।
साम्बाले भारतीय लिग खेलेको यो तेस्रो सिजन हो। उनले खेलेका तीनै सिजन उपाधि जित्न सफल भएकी छिन्।
२०१८-१९ को सिजन सेथु एफसीबाट खेलेकी थिइन्। त्यतिबेला पनि सेथुलाई उपाधि जिताउने क्रममा उनले १४ गोल गरेकी थिइन्। सन् २०१९-२० मा उनले गोकुलमलाई च्याम्पियन बनाउने क्रममा १६ गोल गरिन्। उनी सो सिजन लिगको सर्वाधिक गोलकर्ता भइन्।
यो सिजन पनि लिगको सर्वाधिक गोलकर्ताको अवार्ड जित्दै साम्बाले भारतीय लिगमा दोस्रो पटक सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने अर्को कीर्तिमान बनाइन्।
साम्बा भारतीय महिला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बन्न सफल भइन्। उनले तीन सिजनमा कुल ५९ गोल गरेकी छिन्। लिगमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा भारतकी बालादेवी छिन्। उनले चार सिजनमा ४८ गोल गरेकी छिन्।
यो सिजन फाइनलमा पुगेको अर्को टिम किकस्टार्टबमा नेपालका सरु लिम्बु र रेनुका नगरकोटी आबद्ध थिए।
लिगमा साम्बा, सरु, रेनुकासँगै नेपालबाट अनिता बस्नेत (लर्ड्स), एन्जिला तुम्बापो सुब्बा (सेथु) र रेखा पौडेल (स्पोर्ट्स ओडिसा) गरी ६ महिला फुटबलरले खेल्ने मौका पाए। गोलकिपर एन्जिलाले लिगमा सर्वाधिक ६ क्लिनसिट राखिन् भने सरु लिम्बुले सात गोल गर्न सफल भइन्।
कीर्तिमानी साम्बा
साम्बाको नाममा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान छ। उनले २०७६ मा यो कीर्तिमान बनाएकी थिइन्।
दक्षिण एसियाली खेलकुदअन्तर्गत पोखरामा माल्दिभ्सविरुद्ध गोल गरेर उनले कीर्तिमान बनाएकी थिइन्। साम्बाले अहिलेसम्म नेपालका लागि ४३ खेलमा ४१ गोल गरेकी छिन्।
२०७७ मा घुँडामा चोट लागेपछि साम्बा २०७८ को चैतसम्म मैदान बाहिर बस्न परेको थियो। कतारमा उपचार गरेपछि उनी १३ महिनापछि मैदान फर्केकी थिइन्।
महिला फुटबलमा साम्बाले सफल खेलाडीको परिचय बनाए पनि उनको फुटबल यात्रा भने सहज रहेन।
लमजुङको सिम्बाली गाउँमा जन्मिएर हुर्किएकी सावित्राले फुटबल खेल्नका लागि घरमै संघर्ष गर्नुपर्यो। स्कुलका केटासँग फुटबल खेल्दा परिवारको गाली खानुपर्यो। आमाको पिटाइ सहनुपर्यो। बाबाको ‘घरमै बसेर पढ’ भन्ने आदेश पालना गर्नुपर्यो।
परिवारसँग मनमुटावबीच उनले घरको आँगनमै खाली खुट्टा मोजाको बलमा आफ्नो फुटबल सपनालाई जीवन्तता दिइरहिन्।
साम्बाका चार दिदीबहिनी छन्, दुइ दाजुभाइ। बुवाको नोकरीले मात्र परिवार चलाउनै मुस्किल भैरहेको देखेकी उनका लागि फुटबल जर्सी किन्नु सपना थियो।
उनलाई फुटबलको भोकले छाडेन। विद्यालयको टिफिन टाइममा खाजा खाइनन्। फुटबल खेलिन् त्यो पनि केटाहरूसँग।
केटाजस्तो भएर हिँडेको देखेर छिमेकीले कुरा काटे। तर साम्बाले परवाह गरिनन्।
फुटबलमा मात्र होइन जिल्ला स्तरको दौडमा समेत उनले गोल्ड मेडल जितिन्। भलिबलमा सिल्भर मेडल। साम्बाले ल्याएको मेडलले छिमेकीको मुख टालियो।
२०७१ साल सावित्राका लागि टर्निङ प्वाइन्ट बन्यो। लमजुङकै घले गाउँमा आयोजना भएको फुटबल प्रतियोगितामा साम्बाले उत्कृष्ट प्रदर्शन गरिन्। प्रतियोगिताकै सबैभन्दा धेरै ९ गोल गरिन्।
खेल हेर्न राष्ट्रिय रेफ्री शुक्र लामा घलेगाउँ पुगेका थिए। सावित्राको खेल देखेर शुक्रले उनलाई सशस्त्र प्रहरीको फुटबल टोलीमा आबद्ध हुने मौका मिलाइदिए। लामाले सावित्रालाई फोन गरेर सशस्त्र प्रहरी क्लबमा आउन सुझाव दिए।
वैशाखसम्म घलेगाउँको खेलमा खेलिरहेकी सावित्रा तीन महिनापछि सशस्त्र प्रहरीको एपिएफ क्लबमा महिला फुटबल खेलाडी बनिन्। सशस्त्रमा राष्ट्रिय टोलीका खेलाडी थिए। उनलाई क्लबमा आफूलाइ प्रमाणित गर्ने चुनौती थपियो।
तर मेहेनती साम्बाले हौसला गुमाइनन्।
एन्फाले राष्ट्रिय टोलीमा छनोटका लागि ४४ खेलाडीलाई क्लोज क्याम्पमा राख्यो। साम्बा ४४ मा समेटिइन्। ‘सीमित’ फुटबलको ज्ञानको सहारामा राष्ट्रिय टोलीमा पर्न उनले संघर्ष गर्नुपर्यो।
सन् २०१४ उनका लागि सुनौलो बिहानी बनेर आयो। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन्। डेब्यु खेलमै गोल पनि ठोकिन्।
त्यसयता उनी राष्ट्रिय फुटबल टोलीमा निरन्तर छिन्- गोल मेसिनका रूपमा।
साम्बालाई आफूले केही पाउने अपेक्षाभन्दा राष्ट्रका लागि केही गर्ने भोकले अझै सताइरहेछ।