सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज बराबरीमा रोकिएको छ।
च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजलाई हिमालयन शेर्पाले १-१ गोलको बराबरीमा रोकेको हो।
चर्च ब्वाइजका अन्जन विष्टले खेलको १३ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।
शेर्पाका लागि अबायोमी फकुन्लेले ३६ मिनेटमा बराबरी गोल गर्न सफल भए।
बराबरीसँगै शीर्ष स्थानको चर्च ब्वाइजको २० खेलबाट ३७ अंक भएको छ। शेर्पा २६ अंकसहित सातौं स्थानमा छ।
दशरथ रंगशलामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्सलाई ३-० गोलले हराएको छ।
आर्मीका लागि जगजित श्रेष्ठले २६ मिनेटमा पहिलो गोल गरे। नवयुग श्रेष्ठले ७५ मिनेटमा पेनाल्टीमा अग्रता दोब्बर पार्दा सुदिल राईले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा तेस्रो गोल गरे।
जितसँगै आर्मी २९ अंक जोडेर पाँचौं स्थानमा उक्लियो। फ्रेन्ड्स २१ अंकसहित १३औं स्थानमा छ।