सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्याङ्दी क्लबले फेरि अर्को खेलमा बराबरी खेलेको छ।
च्यासल मैदानमा भएको खेलमा मनाङले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो।
मनाङले लिगमा लगातार सात खेलमा बराबरी खेलिसकेको छ।
आज चर्च ब्वाइजसँग गोलरहित बराबरी खेलेको मनाङले अघिल्लो खेलमा एपिएफसँग २-२ गोलको बराबरी खेलेको थियो।
त्यसअघि सातदोबाटोसँग गोलरहित, पुलिससँग २-२, हिमालयन शेर्पासँग १-१, जावलाखेलसँग २-२ र संकटासँग २-२ गोलको बराबरी खेलेको थियो।
आज चर्च ब्वाइजसँग बराबरीमा खेलेसँगै मनाङ लगातार ७ खेलमा बराबरीमा रोकियो।
पछिल्लो पटक मनाङले त्रिभुवन आर्मीलाई १-० गोलले हराएको थियो।
बराबरीसँगै शीर्ष स्थानको चर्च ब्वाइजको २१ खेलबाट ३८ अंक भएको छ। दोस्रो स्थानको साविक विजेता मछिन्द्रको ३५ अंक र तेस्रो स्थानको जावलाखेलको ३४ अंक छ। मनाङ भने २५ अंकसहित दशौं स्थानमा छ।
यता एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लबलाई ४-० गोलले हराउँदै फ्रेन्ड्स क्लब अंक तालिकाको १२औं स्थानमा उक्लिएको छ।
रेलिगेशन जोन छाड्न सफल फ्रेन्ड्सको २१ खेलबाट २४ अंक भएको छ। सातदोबाटो भने २९ अंकसहित चौथो स्थानमा छ।