अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को २ दिने भ्रमण गरेका छन्। प्रतिनिधिमण्डलले एन्फाको कार्यसमितिका सदस्य र प्रशासनसहित एन्फाको विभिन्न निकायका प्रतिनिधिसँग भेटघाट गरेका छन्।
प्रतिनिधिमण्डलमा फिफाका वरिष्ठ मेम्बर एसोसिएसन गभर्नेन्स सर्भिस म्यानेजर अहमद हराज, फिफा प्रमुख क्षेत्रीय कार्यालय दक्षिण एसियाका प्रिन्स रुफस, एएफसी दक्षिण एसिया इकाईका वरिष्ठ म्यानेजर सोनम जिग्मी र एएफसी दक्षिण एसिया इकाईका म्यानेजर दिनिश डी सिल्भा थिए।
यसअघि रूवान्डको किगालीमा भएको ७३औँ फिफा महाधिवेशनमा एन्फालाई आन्तरिक सुशासन प्रक्रियामा सुधार गर्न सहयोग पुर्याउनका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको अनुरोध गरेको र त्यहिँ अनुरोधमा फिफा प्रतिनिधिमण्डलले भ्रमण गरेको एन्फाको भनाइ छ।
फिफा र एएफसी प्रतिनिधिमण्डलले एन्फाले आफ्नो आन्तरिक प्रक्रियालाई सुधार गर्न गर्ने काम कार्यान्वयन गरेकोमा खुसी व्यक्त गरेको एन्फाको भनाइ छ। एन्फालाई चुस्त बनाउन र थप सुधारहरू हासिल गर्न आवश्यक सहयोग गर्ने उनीहरुको भनाइ थियो।
प्रतिनिधिमण्डलले शुक्रबार एन्फा कार्यसमिति समितिका सदस्यहरु र महासचिवसँग छलफल गरेको थियो।
सन् २०२१ देखि एन्फामाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउने उद्देश्यले फिफा र एएफसीका विभिन्न नियमावलीमा रहेर काम गर्ने प्रतिबद्धता बैठकमा उपस्थित एन्फा केन्द्रीय सदस्यहरूले व्यक्त गरेका थिए।