पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नाम चलेका खेलाडीलाई आकर्षित गर्न सके साउदी प्रो लिग ‘विश्वको शीर्ष पाँच लिग’ बन्न सक्ने बताएका छन्।
लिओनल मेसी, करिम बेन्जेमा र लुका मोड्रिच साउदी अरबमा फुटबल खेल्न आउने चर्चा चलेकोमा ३८ वर्षीय रोनाल्डोले आफूसँगै खेल्नका लागि ‘धेरै स्वागत छ’ भनेका छन्।
पाँच पटकको बालोन डि’ओर विजेता रोनाल्डोले गत डिसेम्बरमा साउदी क्लब अल नासरसँग आबद्ध भएर आफ्नो पहिलो सिजन पूरा गरेका छन्।
उनी र अल नासरबीच सन् २०२५ सम्मको सम्झौता छ र उनले अर्को सिजन साउदीमै खेल्ने पक्का गरेका छन्।
यता फ्रेन्च क्लब पिएसजीले सिजनको अन्त्यमा मेसीले क्लब छाड्ने पुष्टि गरिसकेको छ।
३५ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसी अहिले साउदी अरबका लागि पर्यटन दूतको भूमिकामा छन्। उनी साउदी क्लब अल हिलालमा जाने चर्चा छ।
स्पेनिस क्लब रियल म्याड्रिडबाट रोनाल्डोसँगै खेलेका बेन्जेमा र मोड्रिच पनि आफ्नो करियरको अन्तिम अवस्थामा राम्रो प्रस्तावको खोजीमा छन्।
रोनाल्डोले एसपिएलसँगको अन्तर्वार्तामा भने, ‘यदि ठूला तथा चर्चित खलाडी, युवा खेलाडी, अनुभवी खेलाडी आउँछन् भने स्वागत छ, किनभने उनीहरु आए लिगमा सुधार आउनेछ। साउदी लिग धेरै राम्रो छ, मलाई लाग्छ कि हामीसँग अझै ठूलो हुने धेरै अवसरहरू छन्। लिग प्रतिस्पर्धात्मक छ। हामीसँग धेरै राम्रा टोली छन्, धेरै राम्रा अरब खेलाडी छन्। उनीहरूले पूर्वाधारमा अलिकति सुधार गर्न आवश्यक छ। रेफ्रीहरू, भिएआर प्रणाली पनि अलि छिटो हुनुपर्छ।’
गत डिसेम्बरमा युनाइटेडबाट अल नासरमा आबद्ध भएपछि उनले १६ खेलमा १४ गोल गरे।