सहिद स्मारक ए डिभिजन लिगमा २३औं चरणका खेल सकिँदा उपाधि तथा रेलिगेसन भिडन्त रोमाञ्चक मोडमा पुगेको छ।
अन्तिम तीन चरणका खेल बाँकी रहदा नवप्रवेशी चर्च ब्वाइज ४१ अंक जोडेर शीर्ष स्थानमा छ भने उपाधि होडमा बलियो बनेको छ। चर्च ब्वाइजले ११ खेलमा जित निकाल्दा ८ खेलमा बराबरी र ४ खेल गुमाउन पुगेको छ।
चर्च ब्वाइजलाई साविक विजेता मच्छिन्द्रले ३९ अंक जोडेर पछ्याइरहेको छ। दुई अंकले पछि परेको मच्छिन्द्रले १० खेलमा जित निकाल्दा ९ खेलमा बराबरी र ४ खेल हारेको छ।
मच्छिन्द्रभन्दा दुई अंकले पछि तेस्रो स्थानको जावलाखेल पनि ३७ अंक जोडेर उपाधि होडमा छ। जावलखेलले १० खेलमा जित निकाल्दा ७ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको छ।
यस्तै विभागीय टोली नेपाल पुलिस क्लबले सुरूवातमा खराब प्रदर्शन गरे पनि अन्त्यतिर प्रदर्शन सुधारेको छ। गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन। धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ। तर अन्त्यतिर पुलिसले उत्कृष्ट खेल देखाएको छ।
३४ अंक जोडको पुलिस पछिल्ला चारमा खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ। पुलिसले २३ खेलमा १० खेलमा जित निकाल्दा ४ खेलमा बराबरी र ९ खेलमा पराजय भोगेको छ।
उपाधि होडमा पुलिस पनि छ, तर शीर्ष तीन टिम (चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल) स्पष्टरुपमा उपाधि देखिएका छन्।
लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब ३१ अंक जोडेर पाँचौ स्थानमा छ। मनाङले पछिल्ला पाँच खेलमध्ये ३ खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरे पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन।
लगातार खराब प्रदर्शन गरेपछि किरण श्रेष्ठले राजीनामा मनाङको प्रशिक्षकबाट दिएका थिए। त्यसपछि नयाँ प्रशिक्षक विष्णु गुरुङ जोडिएसँगै टोलीले सुधारिएको खेल देखाउन सक्यो।
लिगमा छैटौं स्थानको त्रिभुवन आर्मी क्लबदेखि १४औं स्थानको खुलमटारबीच रेलिगेसन भिडन्त छ। दुई टिम रेलिगेनसमा पर्ने प्रावधानअनुसार छैटौंदेखि १४औं स्थानका नौं टिम मध्ये दुई टिम बी डिभिजनमा झर्नेछन्। जसमा अन्तिम दुई टिममाथि बढी नै दबाब छ।
अनुभवी खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मी छैठौं स्थानमा छ। आर्मीले २३ खेलमा ७ जित निकाल्दा १० खेल बराबरी र ६ खेलमा नतिजा विपक्षी टोलीलाई सुम्पिएको छ। आर्मीको ३० अंक हुँदा शीर्ष स्थानको चर्च ब्वाईजभन्दा ११ अंकले पछि छ र आर्मीको उपाधि सम्भावना समाप्त भइसकेको छ।
हिमालयन शेर्पाले ७ खेलमा जित निकाल्दा ९ खेलमा बराबरी र ७ खेल गुमाएको छ। शेर्पा ३० अंकसहित सातौं स्थानमा छ।
२९ अंक जोडेर आठौं स्थानमा रहकेो एपिएफले सुरुवात राम्रो गरे पनि पछिल्ला पाँच खेलमध्ये दुई जितले राहत मिल्यो। यद्यपी एपिएफको रेलिगेसनबाट बच्ने निश्चितता छैन।
नवौं स्थानको सातदोबाटो एक चरण मात्र शीर्षमा रह्यो। जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो। त्यसपछि खराब प्रदर्शन गरेको सातदोबाटोले लगातार चार हार बेहोरेको छ। २९ अंक जोडेको सातदोबाटोले ८ खेलमा जित, ५ खेलमा बराबरी र १० खेलमा हार बेहोरेको छ।
समान २९ अंक रहेको दशौं स्थानको न्युरोड टिमले पछिल्ला पाँच खेलमध्ये दुई जित, दुई बराबरी र एक खेल गुमाएको छ।
थ्रीस्टारको खराब लयलाई अनुभवी प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन्। पछिल्ला पाँच खेलमध्ये थ्रीस्टारले चार खेल हार्दा एक खेलमा बराबरी खेलेको छ। थ्रीस्टार २७ अंकका साथ तालिकाको ११औं स्थानमा छ।
संकटालाई पनि यो सिजन रेलिगेसन बच्ने सोच भन्दा माथि उठ्नका लागि मौका नै मिलेन। १२औं स्थानमा रहँदा संकटा रेलिगेसनभन्दा एक स्थान माथि मात्र छ। ६ खेलमा मात्र जित निकालेको संकटाले ९ खेलमा बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको छ।
रेलिगेसन जोनमा रहेका फ्रेण्ड्स र खुमलटारका लागि भने आगामी तीन चरण महत्वपूर्ण हुनेछन्। फ्रेण्ड्स २५ अंकसहित १३औं र खुमलटार २४ अंकसहित १४औं स्थानमा छन्।
बाँकी रहेका तीन मध्ये एक खेलमा जित निकालेको अवस्थामा पनि उनीहरु रेलिगेसन जोनबाट बाहिर निस्कन सक्छन्, तर त्यसका लागि अरु टिमले अंक गुमाउनु पर्छ।
फ्रेण्ड्स र खुमलटारले तीनै खेल जितेको अवस्थामा भने अरु टिममाथि रेलिगेसनको दबाब थपिनेछ।