सहिद स्मारक ए डिभिजन लिगका लागि तयारी खर्च समयमै उपलब्ध नगराएको भन्दै अन्सन्तुष्ट ए डिभिजन क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच छलफल भएको छ।
आइतबार फ्रेण्ड्स क्लबको कुपन्डोलस्थित भवन भएको छलफलमा एन्फाका महासचिव किरण राई उपस्थित थिए।
छलफलमा फ्रेण्ड्स, हिमालयन शेर्पा, संकटा, मनाङ मर्स्याङ्दी, सातदोबाटो, थ्रीस्टार, एनआरटी, खुमलटार र चर्च ब्वाइजका प्रतिनिधि उपस्थित थिए।
छलफलले सरकारले कर दरमा हेरफेर गरेकोले क्लबमा आबद्ध खेलाडीको पारिश्रमिक कर कट्टा गरेर दिने निर्णय गरेको छ।
यस्तै क्लबले उठाएका अन्य माग सम्बोधन गर्न जेठ २२ मा छलफल गर्ने निर्णय गरेको छ। यसअघि क्लबले खेलका दौरान कालो पट्टी बाँधेर लिग खेल्ने निर्णय गरेकोमा उक्त निर्णय हाललाई स्थगित गरिएको छ।
यसअघि क्लबहरुले कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेपछि एन्फाले कारबाही गर्ने संकेत गरेको थियो। क्लबहरूले कालो पट्टीसँगै राष्ट्रिय टिम परेका आफ्ना खेलाडीलाई रिलिज नगर्ने निर्णय गरेका थिए। लगत्तै एन्फा राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गर्न बाध्य भएको थियो।