सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनमा दबाबमा रहेको संकटा क्लबलाई राहत मिलेको छ।
अन्तिम दुई खेल बाँकी रहदा संकटाले अंक तालिकाको पुछारमा रहेको एफसी खुलमटारमाथि ३-० गोलको जित निकाल्यो।
संकटाको जितमा निशान खड्काले १६ मिनेटमा पहिलो गोल गर्दा आयुष घनालले ३८ मिनेटमा अग्रता दोब्बर पारे।
७८ मिनेटमा चन्दन दासले तेस्रो गोल गरे। जितसँगै एघारौं स्थानको संकटाले ३० अंक जोडेको छ।
यता पुछारको खुमलटारमाथि रेलिगेसन दबाब बढेको छ। उसको २४ अंक छ। अब रेलिगेसनबाट जोगिन खुमलटारले बाँकी रहेका दुवै खेल जित्नु पर्नेछ।
यता न्युरोड टिम र हिमालयन शेर्पाले एक एक गोलको बराबरी खेलेर अंक बाडेका छन्। सातौं स्थानको शेर्पाको ३१ अंक हुँदा दशौं स्थानको न्युरोड ३० अंक भएको छ।