स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिकले ४१ वर्षको उमेरमा फुटबलबाट संन्यास लिएका छन्। इटालियन क्लब एसी मिलानबाट अन्तिम खेल खेलेसँगै उनले फुटबलबाट संन्यासको घोषणा गरेका हुन्।
‘म फुटबललाई अलविदा भन्छु तर तपाईलाई होइन,’ उनले आइतबारको सिजनको अन्तिम खेल पछि सान सिरोका उपस्थित हजारौं समर्थकलाई भने।
इब्राहिमोभिचले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरिसकेका थिए।
उनले फ्रेञ्च क्लब पिएसजी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा इटालियन क्लबद्वय एसी र इन्टर मिलान जस्ता क्लबहरूका लागि ५११ गोल गरे, चार देशमा लिग उपाधि जिते।
इब्राहिमोभिकले २०२० को सुरुमा एसी मिलानसँग दोस्रो सम्झौता गरेका थिए।
गएको शताब्दीमा सुरु भएको करियरमा इब्राहिमोभिकले ३४ वटा उपाधि जितेका थिए। जसमा १४ लिग उपाधि छन्।
उनले १२२ खेलमा ६२ अन्तर्राष्ट्रिय गोलसहित स्विडेनका सर्वकालीन शीर्ष स्कोररको कीर्तिमान बनाए।
उनले युरो २०१६ पछि राष्ट्रिय टोली छाडे, तर २०२१ मा विश्वकप छनोट अभियानमा फर्किएका थिए।
इब्राहिमोभिचले आफ्नो व्यावसायिक करियर १९९९ मा घरेलु क्लब माल्मो एफएफबाट सुरु गरेका थिए। उनी २००१ मा आयाक्समा आबद्ध हुँदै तीन वर्ष खेले।
२००४ मा इटालीमा युभेन्टसबाट खेलेका उनले दुईवटा लिग उपाधि जितेका थिए
सन् २००९ मा बार्सिलोना जानुअघि उनले इन्टर मिलानसँग थप तीनवटा सिरी ए उपाधि जितेका थिए।
उनले बार्सिलोनामा एक सिजन बिताए। एसी मिलानमा लोनमा जानुअघि उनले ला लिगा उपाधि जितेका थिए।
एक वर्षपछि उनी पिएसजीमा आबद्ध भए। उनले पिएसजीमा १२२ खेलमा ११३ गोल गर्दा चार लिग उपाधि जिते।
जुलाई २०१६ उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएर दुई वर्ष खेल्दा लिग कप र युरोपा लिग जिते।
सन् २०१८ मा अमेरिकाको एलए ग्यालेक्सीमा गएर दुई सिजन बिताएपछि उनी फेरि एसी मिलान फर्किए।