ए डिभिजन लिगको रेलिगेसन दबाबमा रहेको खुमलटारलाई राहत मिलेको छ।
मंगलबार च्यासल रंगशालामा भएको खेलमा एपिएफ क्लबलाई ३-१ गोलले पराजित गरेसँगै खुमलटारको रेलिगेसनबाट जोगिन आसा बाँकी नै रहेको हो। जितसँगै खुमलटारले पुछारको स्थान छाड्न सफल भएको छ।
अन्तिम खेलअघि खुमलटार २७ अंक जोडेर १३औं स्थनमा उक्लिएको छ। अन्तिम खेलमा जित निकाल्न सके खुमलटार ए डिभिजनमा कायम रहने सम्भावना हुनेछ।
एपिएफ भने ३० अंकसहित नवौं स्थानमा छ।
यता एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एक एक गोलको बराबरी खेलेर अंक बाँडेका छन्।
बराबरीसँगै पुलिस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पुलिसको २५ खेलबाट ३८ अंक भएको छ। आर्मी ३१ अंक जोडेर सातौं स्थानमा छ।
यता दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै च्याम्पियन बनेको छ।