बालोन डि’ओर विजेता फ्रेञ्च फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिड छोडेपछि साउदी अरबको च्याम्पियन अल-इतिहादसँग सम्झौता गर्न सहमत भएका छन्।
उनी दुई वर्षका लागि ५६ अर्ब ४३ लाख रुपैयाँ (४ सय मिलियन युरो) मा आबद्ध भएको दाबी गरिएको छ।
३५ वर्षीय बेन्जेमाले म्याड्रिडसँग १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्रफी जितेका थिए। यो सिजन सम्झौता सकिएपछि साउदी गएका बेन्जेमाले रियलका लागि ३५४ गोल गरेका थिए। उनी रियलका लागि क्रिस्टियानो रोनाल्डोपछि दोस्रो सर्वाधिक गोलकर्ता हुन्।
रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल-नासरबाट खेलिरहेका छन्।
‘राम्रो लिग हो र यहाँ धेरै राम्रा खेलाडीहरू छन्,’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो पहिले नै छन्। यसले साउदी अरबको लिगले आफ्नो स्तरलाई अझ अगाडि बढाउन थालेको देखाउँछ। म युरोपमा जस्तै जित्नको लागि यहाँ छु।‘
उनले अघि भने, ‘म फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु।‘
पूर्व वुल्भ्स र टोटेनहमका प्रशिक्षक नुनो एस्पिरिटो सान्तो अल-इतिहादको प्रशिक्षक छन्।
साउदीको सार्वजनिक लागनी कोषको चार प्रमुख क्लब मध्ये एक अल इतिहाद हो। जसको स्वामित्व इंग्लिस क्लब न्युकासल युनाइटेडमा पनि छ।
रोनाल्डोको अल-नासर र अल-हिलालमा पनि कोषको लगानी छ। अल हिलालमा लिओनल मेसी आउने चर्चा छ।