यो सिजनको सहिद स्मारक ए डिभिजन लिगको विजेताको टुंगो लागिसकेको छ।
गत वर्ष बी डिभिजनबाट च्याम्पियन बनेर यो वर्ष ए डिभिजन लिग खेलेको चर्च ब्वाइज क्लब डेब्यू सिजनमै लिगको विजेता बन्यो।
साविक विजेता मछिन्द्र क्लब भने यो सिजन दोस्रो स्थानमा सीमित बन्यो।
लिगमा विजेताको टुंगो लागिसकेको अवस्थामा अब अन्तिम चरणका ७ खेल बाँकी छन्। अन्तिम चरणबाट यो सिजन रेलिगेसनमा पर्ने दुई टिमको टुंगो लाग्दैछ।
लिगको ११औं स्थानको एपिएफ क्लब (३० अंक), १२औं स्थानको थ्रीस्टार क्लब (२९ अंक), १३औं स्थानको फ्रेन्ड्स क्लब (२७ अंक) र १४औं स्थान/पुछारको एफसी खुमलटार (२७ अंक) मध्ये दुई टिम बी डिभिजनमा झर्नेछन्।
अन्तिम चरणमा एपिएफ र फ्रेन्ड्स क्लबबीच शुक्रबार प्रतिस्पर्धा हुँदैछ। शुक्रबार नै खुमलटारले च्याम्पियन चर्च ब्वाइजसँग खेल्नेछ। थ्रीस्टारले भने शनिबार जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ।
रेलिगेसनबाट जोगिन एपिएफ र थ्रीस्टारलाई बराबरी भए पुग्छ। हारले दुवै टिम रेलिगेनसमा पर्ने खतरा हुनेछ।
एपिएफलाई हराए फ्रेन्ड्सको रेलिगेसनबाट जोगिने सम्भावना हुनेछ। यस्तै खुलमटारका लागि च्याम्पियन चर्च ब्वाइजलाई हराएर मात्र पुग्दैन, थ्रीस्टार र फ्रेन्ड्सले अंक गुमाउनु पर्छ।
रेलिगेसन ब्याटलमा एपिएफ र थ्रीस्टार सहज अवस्थामा रहदा फ्रेन्ड्स र खुमलटार कठिन परिस्थितिमा छन्।