ए डिभिजन लिग खेलेको पहिलो सिजनमै एफसी खुमलटार रेलिगेसनमा परेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा लिगको आफ्नो अन्तिम खेलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग २-० गोलले पराजित भएपछि खुमलटार बी डिभिजनमा झरेको हो।
पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी नदिएको नहुँमा रेफ्रीलाई हातपात गरेपछि खुमलटारका चार अफिसियललाई रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए।
तनावपूर्ण खेलअघि खुमलटारले रेलिगेसन भिडन्तका खेल एकै समयमा खेलाउन माग गर्दै चर्च ब्वाइजविरुद्ध नखेल्ने चेतावनी दिएको थियो। तर खुमलटार अन्तिम समयमा खेल्न राजी भएको थियो।
यता रेलिगेसन जोगिन लागि महत्वपूर्ण मानिएको खेलमा एपिएफलाई पराजित गर्दै फ्रेन्ड्स महत्वपूर्ण तीन अंक जोडेर रेलिगेसनबाट जोगियो।
दशरथ रंगशालामा शुक्रबार भएको महत्वपूर्ण खेलमा एपिएफमाथि ४-० गोलको जित निकालेसँगै फ्रेन्ड्सको रेलिगेसनबाट जोगिएको हो।
१२औं स्थानको एपिएफ (३० अंक) र १३औं स्थानको थ्रीस्टार (२९ अंक) बीच रेलिगेसन भिडन्त बाँकी छ। एपिएफले सबै २६ खेल खेल्दा थ्रीस्टारले अन्तिम खेल खेल्न बाँकी छ।
भोलि थ्रीस्टार र जवालखेलबीचको खेलपछि रेलिगेसनमा पर्ने अर्को टिमको टुंगो लाग्नेछ।
एपिएफले थ्रीस्टारलाई पहिलो खेलमा २–० ले हराएको थियो भने दोस्रो खेल भने १–१ को बराबरीमा सकिएको थियो। यो स्थितिमा अंक बराबरी भए थ्रीस्टारभन्दा एपिएफ हेड टु हेडमा अघि छ।
यस्तै पहिले लेगमा एपिएफ र फ्रेन्ड्सले १-१ को बराबरी खेलेका थिए। अंक बराबरी भएपछि हेड टु हेडमा फ्रेन्ड्सअघि रह्यो।
यस्तै फ्रेन्ड्स र थ्रीस्टारबीच हेड टु हेडमा बराबरी रहेको अवस्थामा गोलअन्तरमा फ्रेन्ड्स अघि रह्यो।
अब एपिएफले थ्रीस्टारलाई अंकमा पछि पार्न नसके एपिएफ रेलिगेसनमा पर्नेछ।
थ्रीस्टारले जित हात परे एपिएफ रेलिगेनमा पर्नेछ। जावलाखेलसँग थ्रीस्टारले बराबरी खेल वा हार बेहोरेमा भने एपिएफ जोगिने भने थ्रीस्टार रेलिगेसनमा पर्नेछ।
यता आजै भएको अर्को खेलमा सातदोबाटोलाई १-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले अंक तालिकामा तेस्रो स्थान पक्का गर्यो।