मध्यपुर यूथ एसोसिएसनले ग्रास रुट फुटबल कार्यक्रम सुरु गरेको गरेको छ। मध्यपुर थिमीस्थित एसोसिएसनको कार्यालयमा शनिवार मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे।
अहिले ११० जना बालबालिकाले फुटबलको आधारभूत तालिम लिइरहेको एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले जानकारी दिए।
यो कार्यक्रम अन्तर्गत सुरुवातमा साप्ताहिक रूपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने उहाँले जानकारी दिए।
अहिले साप्ताहिक रूपमा हरेक शनिवार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका ११० जना बालबालिका रहेको एसोसिएसनले जनाएको छ। उनीहरूलाई उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राजेश मानन्धर, राकेश श्रेष्ठसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिने एसोसिएसनले जनाएको छ।
प्रशिक्षण बर्सभरि नै सञ्चालन गर्ने लक्ष रहे पनि वर्षाका कारण २ महिना सञ्चालन गर्न कठिनाइ हुने देखिएको अध्यक्ष सिंहले बताए ।
कार्यक्रममा ए डिभिजन लिगका च्याम्पियन प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान पनि गरिएको थियो।