इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजले एकै सिजनमा युरोपियन च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग, घरेलु एएफए कप र फिफा विश्वकप गरी चार उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
गत सिजन सिटीमा आएका अल्भारेजले १७ गोलका साथ सिटीको दोस्रो शीर्ष स्कोररको रूपमा सिजन समाप्त गरे। २३ वर्षीय अर्जेन्टिनी फरवार्ड अल्भारेज २०२२ को विश्वकपमा सर्वाधिकार गोल गर्ने खेलाडीको तेस्रो स्थानमा थिए।
सिटीले आर्सनलबाट पाँच अंकले पछि पार्दै प्रिमियर लिगको उपाधि जित्दा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो। च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराएको थियो। यस्तै गत डिसेम्बरमा अर्जेन्टिनाले विश्वकपको फाइनलमा फ्रान्सलाई हराएको थियो।
इस्तानबुलमा इन्टरलाई १-० ले जित्दा फाइनलमा नखेले पनि उनी सिटीका लागि सिजनमा महत्वपूर्ण खेलाडी साबित बने।
अल्भारेजले करिब तीन वर्षसम्म फुटबलबाट कुनै ब्रेक बिना खेलेका छन्। पछिल्लो तीन वर्षमा उनले क्लब वा देशका लागि खेल नखेलेको महिना अगस्ट २०२० थियो। त्यतिबेला कोभिडका कारण संसारभर खेल रोकिएका थिए।
सेप्टेम्बर २०२० देखि उनले १६५ खेल खेलेका छन् र ७५ गोल गरेका छन्। उनले अर्जेन्टिनाको रिभर प्लेटले उपाधि जितेको सिजन २०२१ मा अर्जेन्टिना प्रिमियर डिभिजन गोल्डेन बुट जितेका थिए।
सिटीले जनवरी २०२२ मा १४ मिलियन पाउड रिलिज क्लज तोकेपछि उनलाई रिभर प्लेटबाट हस्ताक्षर गरिएको थियो। तर लोनमा रिभर प्लेटमै रहे।
उनले जुलाईमा रिभरको लागि आफ्नो अन्तिम खेल खेले। २३ दिनपछि लिभरपुलविरुद्धको कम्युनिटी शिल्डमा सिटीको लागि गोल गरे।
अल्भारेजले यो सिजन सिटीका लागि ४९ खेल खेले, जसमध्ये २३ खेलमा सुरुवाती रोजाइमा खेल्दै १७ गोल गरे।
सिटीले सामान्यतया एक स्ट्राइकरलाई प्राथमिकता दिए पनि अल्भारेज र हालान्डले यस सिजनमा २९ पटक सँगै खेलेका थिए।
सिजनको बीचमा उनी राष्ट्रिय टिमका लागि विश्वकप खेल्न कतार गए। जहाँ अर्जेन्टिनाले विश्वकप जित्न सफल भयो।
सुरुवाती खेलमा उनी पहिलो रोजाइमा नपरे पनि समूह चरणको अन्तिम खेलपछि उनी पहिलो रोजाइमा परे। उनले विश्वकपमा पाँच खेलमा चार गोल गरे।