घरेलु टिम नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको सेमिफाइनलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई ४-२ गोलले पराजित गर्यो।
खेलको ३४ मिनेटमा मालेनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो। क्रोएसियाका क्रामारिकले ५५ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे।
७२ मिनेटमा पासालिकले गोल गरेपछि क्रोएसियाले २-१ को अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टायमम लाङले गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा २-२ को बराबरी गर्न सफल भएको थियो।
एक्स्ट्रा समयमा धकेलिएको खेलमा क्रोएसियाका लागि पेट्कोभिकले ९८ मिनेटमा र लुक मोड्रिचले ११६ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।
फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुगेको छ।
अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्नेछ। जबकी नेदरल्यान्ड्सले तेस्रो स्थानको प्लेअफ खेल्नु पर्नेछ।
‘यो क्रोएसियाली जनताको जित हो, हामीले नेदरल्यान्ड्सलाई उनीहरूका फ्यानहरूका अगाडि हरायौं, क्रोएसियाले थप एउटा पदक पाएको छ,’ क्रोएसियाका प्रशिक्षक डालिकले खेलपछि क्रोएसियाको नोभा टिभीलाई भने।
क्रोएसिया २०१८ को विश्वकप पछि दोस्रो अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ। विश्वकपमा क्रोएसिया फ्रान्ससँग ४-२ ले पराजित भएको थियो।