युइएफए नेसन्स लिगको उपाधिका लागि स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ।
दोस्रो सेमिफाइनलमा इटालीलाई २-१ गोलले पराजित गर्दै स्पेनले क्रोएसियासँग उपाधि भिडन्त पक्का गरेको हो।
खेलको तेस्रो मिनेटमा पिनोको गोलबाट स्पेनले अग्रता लिएको थियो। तर ११ मिनेटमा इटालीका लागि इमोबिलले पेनाल्टीमा बराबरी गोल फर्काए।
खेल सकिन दुई मिनेट बाँकी छदा जोसेलुले गोल गरेपछि स्पेन जिततर्फ अघि बढेको थियो।
अब उपाधिका लागि क्रोएसिया र स्पेनबीच आगामी आइतबार नेदरल्यान्ड्सको रोटरडममा फाइनल हुनेछ।
यसअघि क्रोएसियाले नेदरल्यान्ड्सलाई ४-२ गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।
स्पेनले पछिल्लो उपाधि २०१२ को युरो कप जितेको थियो। क्रोएसिया भने सन् २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग पराजित हुँदा पहिलो उपाधि जित्न चुकेको थियो।