नेपाली राष्ट्रिय फुटबल टिम गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि अहिले भारतमा छ। साफ च्याम्पियनसिपमा भाग लिन नेपाली टिम भारतमा पुगेको हो।
सहिद स्मारक लिगका कारण नेपालले घरेलु मैदानमा तीन दिन मात्र तयारी गर्न पायो। त्यसपछि फिलिपिन्स हुँदै भारत पुगेको नेपालले भोलिदेखि हुने प्रतियोगितामा भाग लिनेछ।
मैत्रीपूर्ण खेल र साफका लागि नेपालले अहिलेसम्मकै कमजोर तयारी गरेको छ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले कमजोर तयारीका बावजुद फिलिपिन्ससँगको खेलमा १-० गोलले पराजित भए पनि राहत महसुस गरे।
फिलिपिन्ससँग यसअघिका खेलभन्दा कम गोल खानु नेपालका लागि उपलब्धि बन्यो।
नेपालले साफका लागि कमजोर तयारी गर्दा अरु टिमले भने राम्रो तयारी गरेका छन्।
साफका लागि भारतले घरेलु मैदानमा इन्टरकन्टिनेल्टल कप आयोजना गर्यो। भानुआटु, मंगोलिया र लेवनानसँग खेल्दा भारतले अपराजित रहदै उपाधि जित्यो। आइतबार भएको लेवनानविरुद्धको फाइनलमा भारत २-० गोलले विजयी भयो।
कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। यस्तै पाकिस्तानले विदेशमा खेलिरहेका खेलाडीलाई समेटेर बलियो टिम बनाएको छ।
फिफा वरीयतामा भारत १०१औं, कुवेत १४३औं, नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन्।
अघिल्ला साफभन्दा यसपटक बलिया टिमले प्रतिस्पर्धा गर्दैछन्। साफ बाहिरका कुवेत र लेवनानले साफमा भाग लिने भएपछि नेपालले राम्रो तयारी गर्नु पर्ने अवस्था थियो।
एन्फा र ए डिभिजन क्लबबीचको विवादका नेपालले अघिल्ला साफभन्दा पनि झनै कमजोर तयारी गरेको छ। अझ राष्ट्रिय टिमका सिनियर खेलाडी अस्ट्रेलिया पलायन हुँदा त्यसको असर टिममा परिरहेको छ।
अघिल्ला साफमा उपाधिको दाबेदार मानिने नेपालले पहिलो पटक उपाधिका लागि लक्ष्य बनाएको छैन। प्रशिक्षक एनेसेले पनि उपाधिका लागि नसोच्ने बताएका थिए। तर पनि प्रतियोगिता खेल्दा उपाधि जित्ने लक्ष्य राख्नु अस्वभाविक होइन।
भारतको बेंगलुरूमा हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भोलि कुवतेसँग खेल्नेछ।
नेपाल र कुवेतबीच साफको उद्घाटन खेल हुने भएको हो। भोलि नै भारत र पाकिस्तान भिड्नेछन्।
नेपालले दोस्रो खेल भारतसँग असार ९ र समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ।
नेपालका खेल
नेपाल भर्सेस कुवेत – असार ६- दिउँस ३:३० बजे
नेपाल भर्सेस भारत- असार ९- राति ७:३० बजे
नेपाल भर्सेस पाकिस्तान- असार १२ - दिउँस ३:३० बजे
नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्।
दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।
दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।
श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।
सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।
१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा
मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर