दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतको बेंगलुरूमा सुरु भएको छ।
उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा भइसकेको छ। खेलको पहिलो हाफ सकिदा कुवेतले खेलमा २-० गोलको अग्रता लिएको छ।
खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे।
कर्नर बलमा नेपाली डिफेन्डरले क्लियर गर्न नसक्दा खालिदले हेडमार्फत् बललाई जाली चुमाएका थिए।
कुवेतले ४२औं मिनेटमा अग्रता दोब्बर पारे। अलखालिदले डिबक्सभित्र प्राप्त अवसरमा नेपाली डिफेन्डर विमल पाण्डेको रोक्ने प्रयास विफल पार्दै उत्कृष्ट फिनिसिङ गरे।
पहिलो हाफमा नेपालका लागि अन्जन विष्टले डिबक्स भित्र मौका पाए फिनिसिङ गर्न सकेनन्।
कुवेतले पहिलो हाफमा नेपाली पोस्टमा दबाब दिएपछि नेपाली डिफेन्डर व्यस्त बने।
नेपालले पहिलो हाफमा कुनै प्रहार पोस्टमा भने गर्न सकेन।
नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्।
दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।
च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।
श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।
सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।
१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।