इंग्लिस तथा युरोपियन च्याम्पियन म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगन यस महिनाको अन्त्यमा आफ्नो सम्झौता सकिएपछि फ्रि-ट्रान्सफरमा स्पेनिस क्लब बार्सिलोना जाने भएका छन्।
३२ वर्षीय गुन्डोगनलाई सिटीले नयाँ प्रस्ताव गरेको थियो तर उनले स्पेनिस च्याम्पियनसँग तीन वर्षको आकर्षक सम्झौता गर्न लागेको बिबिसीले उल्लेख गरेको छ।
जर्मनीका मिडफिल्डरले २०२२-२३ मा ५१ खेल खेलेर ११ गोल गरेका थिए।
म्यानचेस्टर युनाइटेडमाथि एएफ एपको फाइनलमा २-१ को जितमा गरेको गोलसित उनले आफ्नो अन्तिम सात खेलमा ६ गोल गरेका थिए।
क्रोएसियाका मिडफिल्डर कोभासिकलाई अनुबन्ध गर्न सिटीले चेल्सीसँग ३० मिलियन पाउण्डको सम्झौता गरेपछि गुन्डोगन बार्सिलोना जान लागेका हुन्।
गुन्डोगन २०१६ मा बोरुसिया डर्टमुन्डबाट सिटीमा आबद्ध भएका थिए। उनले क्लबका लागि ३०४ खेलमा ६० गोल गरे।
आफ्नो सात वर्षको अवधिमा उनले १४ ट्रफी जिते। जसमा पाँच प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई एफए कप, चार काराबाओ कप र दुई कम्युनिटी शिल्ड छन्।
उनलाई ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले छाडेपछि २०२२-२३ को सुरुमा क्लबको कप्तान बनाइएको थियो।