किबन राई इंग्लिस फुटबलमा व्यवसायिक सम्झौता गर्ने पहिलो नेपाली मूलका पुरुष खेलाडी भएका छन्। उनले इंग्लिस लिग-२ क्लब न्यूपोर्टसँग सम्झौता गरेका हुन्।
महिलातर्फ नेपाली मूलकी अस्मिता आले इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमबाट खेल्ने गर्छिन्।
नेपाली आमाबुबाका सन्तान राईसँग न्यूपोर्टले यो सिजन सम्झौता गरेको हो।
१८ वर्षीय मिडफिल्डर राईले न्यूपोर्टका लागि यू-१५ स्तरमा प्रतिस्पर्धा गरिसकेका छन्। उनले गत मार्चमा न्यूपोर्टको सिनियर टिममा डेब्यू गरेका थिए।
न्यूपोर्ट काउन्टी एएफसी एकेडेमीका उत्पादन राई ब्रेकनमा जन्मेका र हुर्केका थिए।
न्यूपोर्टसँगको सम्झौतापछि राईले स्काइ स्पोर्ट्ससँग कुरा गर्दै आफ्नो सम्झौताले नेपाली मूल तथा नेपालका युवा खेलाडीका लागि प्रोत्साहन मिल्ने बताए।
न्यूपोर्टले इंग्ल्यान्डको एफए कप र लिग-२ खेल्ने गर्छ। लिग-२ इंग्ल्यान्डको चौथो डिभिजनको व्यवसायिक लिग हो।
सन् २०२३-२४ को लिग-२ मा २४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिग-२ बाट बढुवा भएपछि लिग-१ मा प्रतिस्पर्धा गर्ने पाइन्छ। यस्तै लिग-१ बाट भए दोस्रो डिभिजनको लिग च्याम्पियनसिपमा पुगिनेछ। च्याम्पियनसिपबाट बढुवा भएर प्रिमियर लिगमा पुगिन्छ।