दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक भारत र लेवनानबीच प्रतिस्पर्धा हुने भएको छ।
लेवनानले बुधबार भएको समूहको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १-० गोलले पराजित गर्यो। लेवनानको जितमा मातोकले खेलको २३ मिनेटमा गोल गरे।
जितसँगै लेवनान समूह ‘बी’ को विजेता बन्यो। जससँगै सेमिफाइनलमा लेवनानको भिडन्त समूह ‘ए’ को उपविजेता भातरसँग तय भयो।
समूह ‘ए’ विजेता कुवेतसँग सेमिफाइनलमा भिड्ने टिमको भने टुंगो लाग्न बाँकी छ। समूह ‘बी’ बाट माल्दिभ्स र बंगलादेश मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछन्। त्यसका लागि आज राति भुटान र बंगलादेशबीच हुने खेलपछि टुंगो लाग्नेछ। बंगलादेशले बराबरी खेलेको अवस्थामा अन्तिम चारमा स्थान पक्का गर्दा माल्दिभ्स बाहिरिनेछ। माल्दिभ्स अन्तिम चारमा पुग्न बंगालदेशको हारको कामना गर्नु पर्नेछ।
यता समूह ‘ए’ को पहिलो खेलमा कुवेत र दोस्रो खेलमा भारतसँग पराजित भएको नेपाल भने अन्तिम खेलअघि नै बाहिरिएको थियो। नेपालले समूहको अन्तिम खेलमा पाकिस्तानविरुद्ध १-० गोलको सान्त्वना जित हात पारेको थियो। नेपालको जितमा आशिष चौधरीले गोल गरेका थिए।