म्यानचेस्टर युनाइटेडले चेल्सीका इंग्लिस मिडफिल्डर मेसन माउन्टलाई ५५ मिलियन पाउण्ड र थप एड अन ५ मिलियन पाउण्डमा पाँच वर्षको सम्झौतामा अनुबन्धन गर्ने सम्झौता गरेको छ।
च्याम्पियन्स लिगमा युनाइटेड छनोट भएपछि आफ्नो टोली बलियो बनाउने प्रयासमा रहेका प्रशिक्षक एरिक टेन ह्यागले सिजनमा पहिलो खेलाडीको रुपमा २४ वर्षीय माउन्टलाई भित्र्याएका हुन्।
चेल्सीले गत सिजन ६०० मिलियन खर्च गरेको थियो र फाइनान्सियल फेयर प्ले चिन्ता कम गर्न जुन ३० भन्दा पहिले खेलाडी बेच्न आवश्यक थियो।
माउन्ट छ वर्षको उमेरमा चेल्सीमा आवद्ध भएका थिए।
चेल्सीले युनाइटेडको पहिलो तीन प्रस्तावहरू अस्वीकार गरेको थियो। तर दुई क्लबबीचको वार्ता यस हप्ता फेरि सुरु भएको थियो।
सन् २०१९ मा सिनियर डेब्यु गरेदेखि चेल्सीका लागि १९५ खेलमा ३३ गोल गरेका माउन्टले चोटका कारण घरेलु सिजनको अन्तिम तिरका खेल गुमाएका थिए। गत सिजनको लिगमा चेल्सी १२औं हुँदा २५ वर्षकै खराब नतिजा बेहोर्यो।
माउन्टले इङ्ल्यान्डबाट ३६ अन्तर्राष्ट्रिय खेलमा पाँच गोल गरेका छन्। उनी कतार विश्वकप २०२२ मा इंग्लिस टिमका महत्वपूर्ण खलाडी थिए।