विश्वको सबैभन्दा पाका फुटबल खेलाडी काजुयोशी मिउराले थप एक सिजन खेल्ने भएको छ।
५६ वर्षीय मिउराले पोर्चुगलको दोस्रो डिभिजनको क्लब ओलिभेरेन्ससँग सम्झौता गरेका बिबिसीले लेखेको छ।
जापानका पूर्वस्ट्राइकर गत जनवरीमा जापानको योकोहामाबाट लोनमा ओलिभेरेन्समा आबद्ध थिए। त्यहिँ आधारमा नयाँ सम्झौता भएको हो। तर उनको सम्झौता कति समयको लागि हो भन्ने कुरा खुलाइएको छैन।
मिउराले यस वर्ष कुल २८ मिनेट मात्र खेलेका छन्। उनले तीन खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान छिर्दा २८ मिनेट खेलेका हुन्।
जापानको योकोहामा र पोर्चुगलको ओलिभेरेन्स दुवै टिमका मालिक जापानी हुन्।
सन् १९८६ मा ब्राजिलियन टोली सान्तोसबाट आफ्नो करियर सुरु गरेका मिउरा सन् २००५ देखि योकोहामा एफसीमा थिए।
यद्यपी उनले सन् २०२२ मा चौथो तहको सुजुका प्वाइन्ट गेटर्समा लोन आबद्ध भएर खेलेका थिए। सो क्लबमा उनका दाइ यासुतोशी प्रशिक्षक थिए। उनले सुजुकाका लागि १८ खेलमा २ गोल गरेका थिए।
उनले इटाली, क्रोएसिया र अष्ट्रेलियामा पनि क्लब फुटबल खेलिसकेका छन् ।
जापानी फुटबल लिजेन्डले २३ वर्षअघि जापानको राष्ट्रिय टिमबाट संन्यास लिएका थिए। अन्तर्राष्ट्रिय करियरमा उनले ८९ खेलमा ५५ गोल गरेका थिए।
उनले यसअघि ६० वर्षको उमेरसम्म खेल्न बताउँदै आएका छन्।