नेपालको महिला राष्ट्रिय फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन सम्झौता गरेको छ।
महिला राष्ट्रिय टिमलाई प्रायोजना गर्ने सम्झौतामा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ र युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले मंगलबार हस्ताक्षर गरेका छन्।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा भएको सम्झौताअनुसार युनिलिभर नेपालले नेपाली महिला राष्ट्रिय टिमलाई बार्षिक २५ लाख रुपैयाँ दिनेछ।
हालै बंगलादेशमा भएको दुई खेलको मैत्रीपूर्ण सिरिज जितेको नेपाली महिला टिम सन् २०२७ र २०३१ को विश्वकप खेल्ने अभियानमा छ।
त्यसका लागि यो सम्झौता महत्वपूर्ण हुने विश्वास गरिएको छ। सम्झौतालाई एन्फा अध्यक्ष नेम्बाङले ऐतिहासिक भएको बताएका छन्।
यस्तै युनिलिभर नेपालका मुखर्जीले पनि सम्झौताले नेपाली राष्ट्रिय टिमको विश्वकप खेल्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अहिले भने नेपाली राष्ट्रिय महिला टिम चीनमा हुने एसियाली खेलकुदको तयारीमा छ। त्यहि तयारीस्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।