फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेका लागि विश्व कीर्तिमानी २५९ मिलियन पाउण्डको प्रस्तावपछि साउदी अरेबियाको टिम अल-हिलालले एमबाप्पेसँग कुरा गर्ने अनुमति पाएको बिबिसीले उल्लेख गरेको छ।
अल-हिलालको यो प्रस्ताव पिएसजीले स्वीकार गरेपछि एमबाप्पेसँग कुरा गर्ने अनुमति दिइएको हो।
२४ वर्षीय फ्रान्सको राष्ट्रिय टिमका कप्तान एमबाप्पे र पिएसजीबीच अझै एक वर्षको सम्झौता बाँकी छ। पिएसजीले गरेको २०२४ पछिको नयाँ सम्झौताको प्रस्तावलाई एमबाप्पेले अस्वीकार गरिसकेका छन्।
जसका कारण पिएसजी र एमबाप्पेबीच विवाद बढेको छ। विवादका कारण एमबाप्पेलाई पिएसजीको एसिया भ्रमणको टिममा समावेश गरिएको छैन।
एमबाप्पेलाई टिममा नराखेपछि फ्रान्सको फुटबलरको युनियनले नैतिक उत्पीडन गरेको आरोप लगाउँदै अदालत जाने चेतावनी दिएको थियो।
पिएसजी अर्को सिजनमा एमबाप्पेलाई सित्तैमा क्लब छाड्न दिनुको साट्टो अहिले सम्झौता बाँकी रहेकै अवस्थामा बचेर पैसा असुल्न चाहान्छ।
इंग्लिस क्लबत्रय चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटेनह्याम, इटालीयन क्लब इन्टर मिलान तथा स्पेनिस क्लब बार्सिलोनाले एमबाप्पेलाई भित्र्याउन चासो व्यक्त गरेको अवस्थामा साउदीबाट आएको प्रस्तावमा कुरा अघि बढेको छ।
यसअघि एमबाप्पेले अर्को सिजन अनुबन्धन सकिएपछि फ्रि ट्रान्फरमा अर्को स्पेनिस क्लब रियल म्याड्रिडमा जाने बताएका थिए।
तर पिएसजी त्यसो हुन नदिने योजनामा छ। यो सिजन अर्को क्लबमा लोनमा पठाएर पैसा असुल गर्ने र अर्को सिजन क्लब छाड्न दिने पिएसजीको अर्को प्रस्ताव छ। त्यसका लागि पिएसजीले अहिले लोनमा रियलमा जान अनुमति दिने विश्वास गरिएको छ।
पिएसजीका अध्यक्ष नासेर अल-खेलाफीले एमबाप्पेको सम्झौताका लागि कडा अडान जारी राखेका छन्।
पिएसजी र एमबाप्पेबीच विवाद बढिरहेको बेलमा साउदी क्लबले ल्याएको प्रस्तावले पिएसजी उत्साहित हुन सक्छ। तर एमबाप्पेले आफू युरोपमा खेल्ने वा युरोप बाहिर खेल्नेबारे निर्णय गर्न बाँकी छ। साउदी क्लबसँग कुरा गर्ने अनुमति पाएसँगै एमबाप्पे र अल-हिलालले सम्झौता गर्ने/नगर्ने विषयमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।
अल-हिलाल साउदी अरेबियाको सार्वजनिक लगानी कोषको स्वामित्वमा रहेको एक क्लब हो। क्लबले यो सिजन इंग्लिस प्रिमियर लिग खेलिसकेका रुबेन नेभ्स र कौलिबालीलाई अनुबन्धन गरेको छ।
सन् २०१७ मा एमबाप्पे अर्को फ्रेञ्च क्लब मोनाकोबाट १६५.७ मिलियन पाउन्डमा पिएसजी आएका थिए। एमबाप्पे पिएसजीका प्रमुख खेलाडी हुन्। उनले २६० खेल खेल्दै २१२ गोल गरिसकेका छन्।
फ्रान्सलाई २०१८ को विश्वकप जिताउन उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए।
२०२२ को अन्त्यमा उनी स्पेनिस क्लब रियल म्याड्रिड जाने अपेक्षा गरिएको थियो। तर पिएसजीमा दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि सबै चकित परेका थिए।