अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको फिफा महिला विश्वकपको पहिलो खेलमा कोलम्बियासँग २-० गोलले पराजित भएपछि दक्षिण कोरियाका प्रशिक्षक कोलिन बेलले रमाइलो टिप्पणी गरे, ‘कम्तिमा हामीले आज एउटा इतिहास बनायौं।’
उनले आफ्नो टिमका फरवार्ड क्यासी फेयरको बारेमा टिप्पणी गरेका हुन्। फेयरले महिला/पुरुष फिफा विश्वकप खेल्ने सबैभन्दा कम उमेरको खेलाडीको कीर्तिमान बनाएकी थिइन्।
सिड्नीमा भएको खेलको ७७ औं मिनेटमा मैदान छिर्दै १६ वर्ष २६ दिनको उमेर विश्वकप खेलेर कीर्तिमान बनाएकी हुन्।
यसअघि यो कीर्तिमान नाइजेरियाकि इफेनी चिजाइनको नाममा थियो। सन् १९९९ विश्वकप खेल्दा उनको उमेर १६ वर्ष ३४ दिनको थियो। २४ वर्षपछि दक्षिण कोरियाकी फरवार्डले सो रेकर्ड तोड्न सफल भइन्।
विश्वकपमा पुरुषको कीर्तिमान उत्तरी आयरल्यान्डका स्ट्राइकर नर्मन ह्वाइटसाइडको नाममा छ, जो १९८२ मा युगोस्लाभियाविरुद्ध खेल्दा १७ वर्ष ४० दिनका थिए।
फेयरले यू-१७ राष्ट्रिय टिमबाट दुई खेलमा पाँच गोल गरेपछि विश्वकपका लागि राष्ट्रिय टिममा बोलाइएको थियो।
सानै उमेर भएका कारण उनी व्यवसायिक खेलका लागि कुनै क्लबमा आबद्ध भएकी भने छैनन्। उनी अमेरिकामा एकेडेमी फुटबल खेल्छिन्, जहाँ उनी आफ्नो अमेरिकी बुबा र दक्षिण कोरियाली आमासँग बस्छिन्।