राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले प्रारम्भिक राष्ट्रिय टिममा तीन खेलाडी थपेका छन्।
फ्रेन्ड्स क्लबका मिडफिल्डरद्वय सन्तोष खत्री र कुशल फुयाँल तथा जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टिममा बोलाइएको छ। यससँगै प्रारम्भिक टिममा खेलाडी संख्या ३३ पुगेको छ।
मुख्य प्रशिक्षक अनेसेले तीन खेलाडीलाई समावेश गर्नुको कारण प्रोत्साहन मिल्ने तथा राष्ट्रिय टोलीमा मौका पाउने सक्ने बताए। ‘मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी पनि आफ्नो क्लब प्रतियोगितामा व्यस्त रहनेछन्,’ उनले भने।
एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्रले पारो एफसीसँग र त्रिभुवन आर्मीले डुरान्ड कपमा खेल्दैछन्।
राष्ट्रिय टिमको प्रारम्भिक टिममा बोलाइएका मच्छिन्द्र र आर्मीबाट खेल्ने खेलाडी आ–आफ्नो क्लबको प्रतियोगिता सकिएपछि राष्ट्रिय टिममा आवद्ध हुने प्रशिक्षक अनेसेले जानकारी दिए। राष्ट्रिय टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुनेछ ।
फिफा विश्वकप २०२६ को राउण्ड १ को छनोटमा नेपालले लाओससँग खेल्दैछ। होम एण्ड अवे ढाँचा अनुसार नेपालमा पहिलो लेग अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा लाओसमा हुनेछ।
दोस्रो चरणमा प्रवेश गरेमा नेपालले समूह एच मा रहेको युएई, बहराइन र यमन/श्रीलंकासँग खेल्नेछ । दोस्रो चरणका खेलहरू नोभेम्बर २०२४ र जुन २०२४ बीचमा होम एन्ड अवे ढाँचामा खेलाइनेछन्।
नेपाली टोली
गोलकिपरः किरण कुमार लिम्बु (आरजी पञ्जाब), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)
डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), आशिष गुरुङ (मनाङ मर्स्याङ्दी क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल युथ क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)
मिडफिल्डरः अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लकेन लिम्बु (थ्रीस्टार क्लब), आवास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मछिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), कृतिश रत्न छिन्जु (एनआरटी), सन्तोष खत्री (फ्रेन्ड्स क्लब), कुशल फुयाँल (फ्रेन्ड्स क्लब)
फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी एफसी), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पीजंग कार्की (त्रिभुवन आर्मी), दिनेश हेन्जन (त्रिभुवन आर्मी), हिसुब थपलिया (जावलाखेल युथ क्लब)