नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड मनिष डाँगी थाई क्लब रायोङ एफसीमा आबद्ध भएका छन्।
हाल थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेलिरहेको रायोङले मनिषसँग सम्झौता गरेको सार्वजनिक भएको छ।
गत सिजनको सहिद स्मारक ए डिभिजन लिग संकटाबाट खेलेका २१ वर्षीय मनिषले राष्ट्रिय टिमबाट १७ खेलमा ३ गोल गरिसकेका छन्।
गत वर्ष नेपाली राष्ट्रिय टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नुअघि नगावर्ल्ड एफसीसँग अभ्यास खेल खेलेको थियो। सो खेलमा उनले राइट विङबाट उत्कृष्ट खेल देखाउँदै गोलका लागि पास दिएका थिए। त्यहिँ खेलबाट रायोङ प्रभावित भएको थियो।
डाँगीलाई २०७७ को चैतमा तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक राष्ट्रिय टिममा स्थान दिएका थिए। त्यसपछि राष्ट्रिय टिममा समेटिएका उनले पूर्वएसियन च्याम्पियन इराकविरूद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेर डेब्यू खेलमै गोल गर्न सफल भएका थिए। सो खेलमा नेपाल ६-२ ले पराजित भएको थियो।
दुई वर्षअघिको साफ च्याम्पियनसिपमा मनिषले घरेलु टिम माल्दिभ्सविरूद्ध सनसनीपूर्ण गोल गर्दा नेपालले १-० गोलको जित निकालेको थियो।
दक्षिण कोरियामा हुर्किएका मनिष पाँच वर्षदेखि नेपालमा फुटबल खेल्दै आएका छन्।
रोजगारीको सिलसिलामा मनिषको परिवार कोरियामा बस्दै आएको थियो। उनका बुबाको ९ वर्षअघि कोरियामै निधन भएको थियो।
बुबाको इच्छा छोराले नेपाली राष्ट्रिय टिमबाट फुटबल खेलोस् भन्ने थियो। त्यसैले मनिष नागरिकता बनाउने उमेर पुगेपछि सन् २०१८ नेपाल आएका थिए।
संयोग मान्नु पर्छ नागरिकता बनाउन नेपाल आएको बेला उनले सहिद स्मारक सी डिभिजन लिग खेल्ने मौका पाए। उनले त्यतिबेला खालीबारी क्लबबाट खेलेका थिए। अन्तिम तीन खेल खेल्दै पाँच गोल गरे। सो सिजन खालीबारी सी डिभिजन लिग च्याम्पियन बनेको थियो।
त्यसपछि सन् २०१९ मा उनले यू-१८ साफ च्याम्पियनसिपका लागि नेपाली टिममा स्थान बनाए। नेपालको यू-१८ टिमका तत्कालिन प्रशिक्षक चेतनारायण श्रेष्ठले मनिषको खेल्ने शैली कोरियन फुटबलरको जस्तै भएको प्रतिक्रिया दिएका थिए।
उनी मैदानमा तीव्र गतिमा बल कुदाउन र नियन्त्रण गर्न माहिर छन्। पाएका अवसरमा उनी कमै चुक्ने गर्छन्।
मनिषको खेल हेरेपछि प्रशिक्षक श्रेष्ठले पाएको अवसर मध्ये मनिषले ९० प्रतिशतलाई उपयोग गर्ने दाबी गरेका थिए।
मनिषले सन् २०१९ मा नेपालमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपाली टिमको पहिलो रोजाइको फरवार्डको रूपमा खेलेका थिए।
प्रतियोगिता उनले माल्दिभ्सविरूद्ध बराबरी गोल फर्काएका थिए। भुटानसँगको खेलमा ३-० गोलले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
मनिषले नेपालको यू-१९ टिमबाट पनि खेले। सन् २०१९ मा इरानमा भएको एफसी यू-१९ च्याम्पियनसिपको समूह ‘डी’को छनोटमा मनिष नेपाली टिममा थिए।
मनिषले दश वर्षको उमेर फुटबल खेल्न थालेका थिए। कोरियाको एकेडेमीमा फुटबल सिकेका उनले सन् २०१७ मा कोरियाको जुनियर हाइ स्कुल लिग खेलेका थिए। त्यतिबेला उनी जुनियर लिगको उच्चगोलकर्ता भएका थिए।
जुनियर स्कुल लिगमा उत्कृष्ट खेलेपछि उनी पोचेओन सिटिजन एफसीको युथ टिममा आवद्ध भएका थिए। त्यसपछि उनले कोरियन फुटबल एसोसियनले आयोजना गर्ने क्षेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाए।
कोरियामा उत्कृष्ट खेलेपछि उनको नेपालमा समेत चर्चा हुन थालेको थियो।