अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन १९ गते शुक्रबार बस्दैछ। त्यसका लागि महासचिव किरण राईले ११ वटा एजेन्डामा छलफल हुने व्यहोराको पत्र केन्द्रीय सदस्यहरुलाई पठाइसकेका छन्।
बैठकका लागि साफ यू-१९ च्याम्पियनसिप आयोजना पहिलो नम्बरको एजेन्डा छ। यस्तै जिल्ला लिग, सहिद स्मारक बी र सी लिग, महिला लिग लगायतका प्रतियोगिताका खेल नियमावली लगायतको मापदन्डमा छलफल गर्ने अर्को एजेन्डा रहेको छ।
महिला फ्रेन्चाइज लिगसहित फुटसल लिगको मार्केटिङ, प्रशारण र डिभिजन राइट्सको विषयमा पनि बैठकमा छलफल हुनेछ।
आपतकालिन समितिको बैठकले गरेका निर्णय अनुमोदन, थ्री नेशन कपको पुरस्कार वितरण, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षक छनोट, विशेष साधारणसभा/ नियमित साधारणसभाको मिति, खरिद तथा मुल्यांकन समिति, राष्ट्रिय खेलाडीको औषधी उपचार भुक्तानी, एन्फाका कर्मचारीको २०८० साउनदेखि सेवा सुविधा बृद्धि र विविध गरी कुल ११ एजेन्डमा छलफल हुने महासचिव राईको पत्रमा उल्लेख छ।
एन्फाको विधानअनुसार बैठकअघि एजेन्डा उपलब्ध गराउनु पर्ने व्यवस्था छ। एन्फाको विधानमा केन्द्रीय सदस्यले एजेन्डा थप समेत गर्न सक्छन्। सोहिअनुसार अहिलेसम्म चार जना केन्द्रीय सदस्यले एजेन्डा थप गर्न माग गर्दै पत्र पठाएको प्रवक्ता सुरेश शाहले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार केन्द्रीय सदस्यहरु अनिल मल्ल, पेमा डोल्मा लामा, रुपेश अधिकारी र रविन्द्र चन्दले विभिन्न एजेन्डा थप गर्न माग गर्दै एन्फालाई निवेदन पठाएका छन्।
मल्लले एन्फाको विधान संशोधन र जिल्ला गठन प्रक्रियासहित तीन एजेन्डा थप गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गराएका छन्। उनले महासचिव किरण राईको कार्यदक्षतामा प्रश्न गर्दै बर्खास्त गर्न समेत माग गरेका थिए। विधान संशोधनमार्फत महासचिवको योग्यता निर्धारण गर्नु पर्ने उनको मत छ।
पेमा डोल्मा लामाले एन्फामा महिला विभाग र नेपालको संविधान अनुसार महिलाले पाउने ३३% आरक्षण, एन्फाले दिँदै आएको पुरस्कारमा महिला र पुरुषका लागि समान हुनुपर्ने, एन्फा महिला एकेडेमी संचालन, महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिता, महिला रेफ्री तथा प्रशिक्षकको संख्या वृद्धिका एजेन्डामा एन्फा केन्द्रीय समितिमा छलफल हुनु पर्ने माग गरेकी छिन्।
यता चन्दले गत फागुन १७ गतेको विवादित कार्यसमिति बैठकको निर्णय, आन्तरिक अडिट रिर्पोट, सांगठानिक संरचना र कर्मचारी, कतार विश्वकप २०२२ को टिकट, एन्फा बजेट र कर्णाली प्रदेश फुटबल संघ निर्वाचनको विषयमा छलफल गर्नु पर्ने भन्दै यी एजेन्डा थप्न निवेदन दिएका छन्।
अर्का केन्द्रीय सदस्य अधिकारीले पनि गत फागुन १७ गतेको विवादित कार्यसमिति बैठकको निर्णयको विषयमा छलफल गर्ने पर्ने भन्दै एजेन्डा थप्न माग गरेका छन्। उनले आन्तरिक अडिट रिर्पोट, कतार विश्वकप २०२२ को टिकट, एन्फा बजेट २०२३ र महिला तथा पुरुष राष्ट्रिय खेलाडीको पुरानो बाँकी पुरस्कार चुक्ताको विषयलाई एजेन्डामा सामवेश गर्नु पर्ने माग गरेका छन्।
केन्द्रीय सदस्यहरुले विधानअनुसार एजेन्डा थप्न माग गरेकोमा अध्ययन गरिने प्रवक्ता शाहले बताए। साथै उनले एजेन्डा थप भएको वा नभएको विषयमा केन्द्रीय सदस्यहरुलाई विधानअनुसार तीन दिनअघिन जानकारी दिने पनि बताए।
केन्द्रीय सदस्यहरूले एजेन्डा थप गर्न माग गरेसँगै एन्फा केन्द्रीय समितिमा फेरि एकपटक अध्यक्ष पंकजविक्रम नेम्बाङमाथि दबाब हुने देखिएको छ। केन्द्रीय समितिमा गत वर्ष भएको निर्वाचनको केही महिनादेखि नै अल्पमतमा परेका नेम्बाङलाई प्रत्येक केन्द्रीय समितिमा बहुमत पुर्याउन सकस हुने गरेको छ।
गत फागुन १७ मा असन्तुष्ट केन्द्रीय सदस्यहरुले बैठक बहिष्कार गर्दा नेम्बाङले बहुमतको आधारमा निर्णय गरेको दाबी गरेका थिए। तर असन्तुष्ट केन्द्रीय सदस्यहरुले भने बहुमत नभएको भन्दै उक्त बैठकलाई अवैधानिक भएको बताउँदै आएका छन्।