स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड ओस्मान डेम्बेले फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने बार्सिलोनाका प्रशिक्षक जाभीले बताएका छन्।
अमेरिकाको लस भेगासमा बुधबार एटालियन क्लब एसी मिलानमाथि बार्सिलोनाको १-० को प्रि-सिजन मैत्रीपूर्ण जितमा २६ वर्षीय फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडी डेम्बेले बेन्चमा भए पनि उनलाई मैदान उतारिएको थिएन।
‘उनीसँग प्रस्ताव छ र उनले क्लब छोड्ने निर्णय गरेको बताएका छन्। यो उनको व्यक्तिगत निर्णय हो,’ जाभीले भने।
सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बार्सिलोनामा १३५ मिलियन पाउण्डमा आबद्ध भएदेखि डेम्बेलेले १८५ खेलमा ४० गोल गरेका छन्।
डेम्बेलेले गत वर्ष बार्सिलोनासँग दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए।
डिसेम्बरमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्दा उनी फ्रेञ्च टिमका मुख्य खेलाडी थिए।
डेम्बेलेले शनिबार डलासमा रियल म्याड्रिडमाथि बार्सिलोनाको ३-० को जितमा गोल गरेका थिए।