न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकप २०२३ अन्तर्गत स्विडेन समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको छ।
समूहमा लगातार तीन खेलमा जित निकाल्ने क्रममा स्विडेनले बुधबार अर्जेन्टिनालाई २-० गोलले पराजित गर्यो।
अर्जेन्टिनाविरूद्ध स्विडेनको जितमा ब्लोमभिस्टले ६६ मिनेटमा पहिलो गोल गर्न सफल भइन्। रुबेर्सनले ९० मिनेटमा स्विडेनको अग्रता दोब्बर पारिन्।
हारसँगै अर्जेन्टिना भने समूह चरणबाटै बाहिरिएको छ।
यता इटालीमाथि ३-२ गोलको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको छ।
खेलको ११ मिनेटमा कारुसोको पेनाल्टी गोलबाट इटालीले अग्रता लियो।
खेलको ३२ मिनेटमा इटालीकी ओर्सीले आफ्नै पोस्टमा बल छिराउदा दक्षिण अफ्रिकाले खेललाई बराबरीमा ल्यायो। ६७ मिनेटमा दक्षिण अफ्रिकाकी मागियाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाइन्।
७४ मिनेटमा इटालीकी कारुसोले टिम तथा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा केगटलानाले गोल गरेपछि दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेर अन्तिम १६ मा स्थान पक्का गर्यो। यो दक्षिण अफ्रिकाको महिला विश्वकपमा पहिलो जित हो।
हारसँगै इटाली भने बाहिरियो। दक्षिण अफ्रिकासँग बराबरी खेलेको भए पनि इटाली अन्तिम १६ मा पुग्थ्यो।
समूहमा शीर्ष बनेको स्विडेनले ९ अंक जोड्दा दोस्रो भएको दक्षिण अफ्रिकाले ४ अंक बटुल्यो। ३ अंक जोडेको इटाली र १ अंक भएको अर्जेन्टिना भने बाहिरिए।
अब अन्तिम १६ मा स्विडेन र अमेरिका तथा दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबीच खेल हुनेछ।