न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकप २०२३ मा ब्राजिल समूह चरणबाटै बाहिरिएको छ।
बुधबार मेलवर्नमा भएको समूह ‘एफ’ अन्तर्गतको निर्णायक तथा अन्तिम खेलमा जमैकासँग गोलरहितमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो।
ब्राजिललाई बराबरीमा रोकेसँगै जमैका भने समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भएको छ।
जमैका महिला विश्वकपमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो। ब्राजिल २८ वर्षमा पहिलो पटक नकआउट चरणमा पुग्न असफल भयो।
यता आजै पानामामाथि ६-३ को जित निकाल्दै फ्रान्स समूह विजेता बनेर अन्तिम १६ मा पुग्न सफल भयो।
समूहमा फ्रान्सले ३ खेलबाट ७ अंक जोडेर विजेता बन्दा जमैकाले ५ अंक जोड्न सक्यो। ४ अंक जोडेको ब्राजिल बाहिरिदा पानामा तीनै खेलमा पराजित हुँदै अंकबिहीन बन्यो।