खेलाडी अनुबन्धन गर्न साउदी अरेबियाको प्रो लिगले अझै खर्च गर्ने देखिएको छ।
प्रो लिगको बोर्डमा रहेका बेलायती निर्देशक पिटर हटनले लिगमा अझ धेरै वर्ष बजेटमा समस्या नहुने बताएसँगै लिगले खेलाडीका लागि थप खर्च गर्ने देखिएको हो। हटनले लिगले अझै आक्रामक रुपमा खेलाडीका लागि पैसा खर्च गर्ने समेत बताएका छन्।
पाँच पटकका बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट जनवरीमा साउदी क्लब अल नासरमा सामेल भएदेखि लिगले फुटबलका ठूला नामहरूलाई लोभ्याएको छ।
यसमा रियल म्याड्रिडका पूर्व स्ट्राइकर करिम बेन्जेमा, लिभरपुलका पूर्व कप्तान जोर्डन हेन्डरसन तथा चेल्सी, म्यानचेस्टर सिटी र बायर्न म्युनिखका स्थापित खेलाडीहरू पर्छन्।
गत महिना अल-हिलालले पिएसजीका फरवार्ड केलियन एमबाप्पेका लागि विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो।
युरोस्पोर्ट, इएसपिएन, आइएमजी र फेसबुकका वरिष्ठ कार्यकारी रहेका हटनले भने, ‘मैले खेलकुदमा ४० वर्षदेखि काम गरेको छु र मैले यति ठूलो महत्वाकांक्षी र सफल हुने दृढ संकल्प कहिल्यै देखेको छैन।’
बीबीसी रेडियो ५ लाइभको विशेष 'द साउदी स्टोरी' को लागि एक विस्तृत अन्तर्वार्तामा बीबीसी खेलकुद सम्पादक ड्यान रोनसँग कुरा गर्दै हटनले यस्तो बताएका हुन्।
हटनले साउदीको खर्चलाई अघि भने ‘यो खर्च समरमा प्रिमियर लिग क्लबहरूले गरेको एक चौथाई वा पाँचौं हो।’
यसअघि सिटी प्रशिक्षक पेप गार्डियोलाले साउदी प्रो लिगको आर्थिक शक्तिले स्थानान्तरणका लागि "बजार परिवर्तन गरेको" र एलिट क्लबहरूलाई "के भइरहेको छ भन्ने बारे सचेत हुन आवश्यक छ" भनेका थिए। जबकि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले साउदीमा ट्रान्सफर विन्डो ढिलो बन्द हुने चिन्ता व्यक्त गरेका थिए।
साउदी प्रो क्लब क्लबहरूले यस समरमा अहिलेसम्म ४०९ मिलियन यूरो खर्च गरिसकेका छन्। यो विश्व फुटबलमा पाँचौं-उच्च खर्च हो। यद्यपी स्पेनको ला लिगाको २५४ मिलियन युरो भन्दा यो बढी हो। इंग्लिस प्रिमियर लिगले अहिलेसम्म सिजनमा १.३७ बिलियन युरो खर्च गर्दै शीर्ष स्थानमा छ।
फुटबलमा स्थापित शक्तिहरूका लागि साउदी प्रो लिग कत्तिको ठूलो खतरा हो भनेर सोध्दा हटनले भने: ‘साउदीबाट लगानी उल्लेखनीय छ। यो निश्चित रूपमा ठूलो गति हो। यसको मतलब यो होइन कि युरोप विश्व फुटबलमा बलियो हुनेछैन। तर म भन्न चाहन्छु कि यो नराम्रो कुरा होइन। यो राम्रो छ कि फुटबल विश्वभर बलियो हुँदैछ।’