इंग्लिस क्लब चेल्सीले ब्राइटनका गोलकिपर रोबर्ट साञ्चेजलाई २५ मिलियन पाउण्डमा अनुबन्धन गर्न सम्झौता गरेको छ।
एडवर्ड मेन्डीलाई साउदी अरेबियाको अल-अहलीलाई बेचेपछि चेल्सी आफ्नो टोलीमा गोलकिपर थप्न खोजिरहेको थियो।
२५ वर्षीय स्पेनिस गोलकिपर साञ्चेजले चेल्सीमा नम्बर एकका लागि केपा एरिजाबालागालाई चुनौती दिनेछन्।
उनी चेल्सीको कोचिङ स्टाफसँग परिचित छन्। किनभने चेल्सीका गोलकिपिङ प्रशिक्षक बेन रोबर्ट्सले ब्राइटनमा हुँदा उनीसँगै काम गरेका थिए।
साञ्चेज १५ वर्षको उमेरदेखि नै ब्राइटनमा थिए। सन् २०१३ मा लेभान्टेबाट ब्राइटनको एकेडेमीमा सामेल भएका थिए।
उनले नोभेम्बर २०२० मा ब्राइटनमा डेब्यू गरेका थिए। दुई वर्षको अवधिमा उनी टिमका पहिलो रोजाइको गोलकिपर बन्न सफल भए।
उनलाई २०२१ मा स्पेनको राष्ट्रिय टिममा बोलाइएको थियो। युरो २०२० र २०२२ को विश्वकप दुवैमा उनी स्पेनको टिममा थिए। तर उनले स्पेनबाट अहिलेसम्म दुई मैत्रीपूर्ण खेलमा मात्र मौका पाएका छन्।