इन्टर मायमी अमेरिकाको लिग्स कपको अन्तिम आठमा प्रवेश गरेको छ।
अन्तिम १६ को खेलमा एफसी डालासलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गर्दै मायमी क्वार्टरफाइनलमा पुगेको हो।
निर्धारित समयको खेल ४-४ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा मायमीका लागि कप्तान लिओनल मेसी, सर्जियो बुस्केट, कम्पाना, कमल मिलर र बेन्जामिन क्रेमस्चीले गोल गरे।
डालासका लागि पाउल अरिओला, क्विङनोन र जेसस फेरिएराले गोल गर्दा दोस्रो पेनाल्टी हानेका पोमिकलको प्रहार आकासिएको थियो।
त्यसअघि मेसीले खेलको छैटौं मिनेटमा गोल गर्दै मायमीलाई अग्रता दिलाए।
मेसीले अग्रता दिलाएपछि डालासले तीन गोल गर्दै खेलमा अग्रता लियो। डालासका लागि क्विङनोनले ३७ मिनेटमा बराबरी गोल गर्दा ४५ मिनेटमा बर्नान्ड कमोङगोले दोस्रो गोल गरे। ६३ मिनेटमा एलन भेलास्कोकले तेस्रो गोल गर्दा डालास ३-१ ले अघि बढ्यो।
तर ६५ मिनेटमा मायमीका क्रेमास्चीले गोल गर्दा खेल ३-२ को अवस्थामा आयो। ६८ मिनेटमा मायमीका रोबर्ट टेलरले आफ्नै पोस्टमा बल छिराउदा खेलमा डालासले ४-२ को अग्रता लियो।
८० मिनेटमा डालासका मार्को फर्फनले पनि आत्मघाती गोल गरेपछि डालासको अग्रता ३-२ मा झर्यो। ८५ मिनेटमा मेसीले मायमीका लागि बराबरी गोल गर्न सफल भए। जससँगै खेल ४-४ गोलको बराबरीमा पुग्यो। खेलमा मेसीले व्यक्तिगत दोस्रो तथा मायमीका लागि चौथो गोल फ्रिकिकमार्फत् गरेका थिए।
मेसीले मायमीका लागि पछिल्ला चार खेलमा ७ गोल गरिसकेका छन्। उनले पछिल्ला तीन खेलमा दुई दुई गोल गरेका छन्।
अब मायमीले अन्तिम आठमा ह्युस्टन डाइनामो र चार्लोट एफसीबीचको विजेतासँग खेल्नेछ।