नेपालको लिग च्याम्पियन चर्च ब्वाइज क्लबसँग एएफसी क्लब लाइसेन्स नभएका कारण गत सिजनको उपविजेता मछिन्द्र फुटबल क्लबले एफसी कप खेल्दैछ।
एसियाली फुटबल महासंघ (एएफसी) को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको पहिलो चरणको खेलमा नेपालले भुटानको पारो एफसीसँग मंगलबार खेल्दैछ। दशरथ रंगशालामा हुने खेल साँझ ५:३० मा सुरू हुनेछ।
खेलअघि मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले छोटो तयारीका बावजुद जितका लागि खेल्ने बताए। उनले नयाँ खेलाडी अनुबन्धन गरेपछि क्लब थप बलियो भएको बताए।
प्रशिक्षक किशोर केसीले पनि मछिन्द्र जितका लागि तयार भएको बताए।
पारो एफसीको बलियो पक्ष विदेशी खेलाडी भएकाले उनीहरूलाई रोक्ने योजना भएको प्रशिक्षक केसीको भनाइ छ।
पारो एफसीका प्रशिक्षक पुष्प शर्माले भुटानमा हाल चलिरहेको प्रिमियर लिगका कारण आफूहरुलले राम्रो तयारी गर्न पाएको बताए।
भोलि हुने खेलको विजेताले दोस्रो चरणको प्लेअफमा एक सातापछि (१६ अगस्ट) भारतको मोहन बगानसँग खेल्नेछ।
दोस्रो चरणको दुई विजेताबीच (२२ अगस्ट) प्लेअफ हुनेछ। प्लेअफ विजेता एएफसी कपको दक्षिण एसियाको समूह चरणमा पुग्नेछ।
दक्षिण एसियाको समूह चरणमा यसअघि नै भारतको ओडिसा, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया पुगिसकेका छन्।
मछिन्द्रका कप्तान विशालले भोलिको खेलमा जित निकाल्न सके नेपाली क्लब फुटबलमा राम्रो सन्देश जाने बताए। जितले अर्को चरणमा भारतीय क्लब मोहन बगानसँग खेल्ने अवसर प्राप्त हुने भएकाले नेपाली क्लबका लागि फाइदा पुग्ने उनको भनाइ छ।
यसअघि मछिन्द्रले पारोविरुद्धको खेलका लागि ८ खेलाडी भित्र्याएको थियो।
क्लबले आशिष चौधरी, एरिक विष्ट, लकेन लिम्बु, आयुष घलान, सनिश श्रेष्ठ, मेसुके ओलुमाउ, रेजिन सुब्बा र रोहित सुब्बालाई अनुबन्धन गरेको थियो।
मछिन्द्रका प्रशिक्षक मेसुके खेल्ने अझै तय नभएको बताए। श्रम स्वीकृती लगायतको काम भइरहेकाले उनले खेल्ने पक्का नभएको केसीको भनाइ छ।
मछिन्द्र टोली
गोलकिपरः विशाल श्रेष्ठ, प्रदीप भण्डारी
डिफेन्डरः करीम ओमोलाजा, सनिश श्रेष्ठ, दिवाकर चौधरी, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, सुरज विक
मिडफिल्डरः एन्ड्रेस निया, उत्सव राई, दिपेश घले, लकेन लिम्बु, अरिक विष्ट
फरवार्डः विजय भुजेल, रेजिन सुब्बा, विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, मेसुके ओलुमाउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, अफिज ओलावाले ओलाडिपो