फरवार्ड केलियन एमबाप्पे फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को पहिलो टोलीले सोमबारदेखि सुरु गर्ने प्रशिक्षणमा सहभागी नहुने भएका छन्। पिएसजीले सोमबारदेखि यो सिजन फ्रेञ्च लिग वानको तयारी सुरू गर्न लागेको हो।
स्पेनिस क्लब रियल मड्रिडमा जाने चाहनाका बीच एमबाप्पे र पीएसजीबीच विवाद भइरहेको छ।
अर्को सिजन समाप्त हुने आफ्नो सम्झौतामा थप एकको अर्को सम्झौतामा हस्ताक्षर गर्न एमबाप्पेले अस्वीकार गर्दै आएका छन्।
त्यसैले पिएसजीले फ्रेञ्च राष्ट्रिय टिमका कप्तान समेत रहेका एमबाप्पेलाई बेच्न चाहिरहेको छ।
पिएसजी एमबाप्पेलाई कुनै पनि हालतमा सित्तैमा अर्को क्लबमा पठाउने योजनामा छैन। शूल्क लिएर अर्को क्लबमा पठाउनका लागि एमबाप्पेसँग थप सम्झौता गर्ने पिएसजीको रणनीति छ। तर एमबाप्पे भने अर्को सिजन क्लबसँगको सम्झौता सकिएपछि आफ्नै तरिकाको अर्को क्लबसँग सम्झौता गर्ने योजनामा छन्।
यहि विवादका कारण एमबाप्पे एसियाको प्रि-सिजन टुरको लागि पिएसजीको भ्रमण टोलीबाट बाहिर थिए।
साउदी क्लब अल-हिलालको कीर्तिमानी प्रस्तावलाई पिएसजीले स्वीकार गरे पनि एमबाप्पेले क्लब प्रतिनिधिहरूसँग भेट्न अस्वीकार गरेका थिए। जसले उनी साउदी प्रो लिगमा जाने सम्भावना पनि सकिएको थियो।
पिएसजीले लिग वानको आफ्नो पहिलो खेल शनिबार लोरेन्टसँग खेल्दैछ।
अब एमबाप्पेले 'ए' टिमसँग प्रशिक्षण समूहको सट्टा रिजर्भ टिमसँग अभ्यास गर्नेछन्।