कोलम्बिया फिफा महिला विश्वकप २०२३ को अन्तिम आठमा प्रवेश गरेको छ।
मंगलबार मेलवर्नमा भएको अन्तिम १६ को खेलमा जमैकामाथि १-० गोलको जित निकाल्दै कोलम्बिया क्वार्टरफाइनलमा पुगेको हो।
कोलम्बियालाई अन्तिम आठमा पुर्याउने क्रममा कप्तान क्याटालिना उस्मीले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको ५१ मिनेटमा गोल गरेकी थिइन्।
ग्रुजमनले दिएको पासमा उनले गोल गर्दा कोलम्बियाले अन्तिम आठको यात्रा गर्न सफल भयो।
जमैकाले प्रतियोगितामा खाएको यो पहिलो गोल हो। यहि गोलका कारण जमैका प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। समूह चरणमा जमैकाले फ्रान्स र ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै उसले पानामालाई १-० गोलले हराएर अन्तिम १६ मा स्थान बनाएको थियो।
अब सेमिफाइनलमा प्रवेशका लागि कोलम्बियाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।