एसियाली फुटबल महासंघ (एएफसी) को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको पहिलो चरणको खेलमा अहिले नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसीसँग खेलिरहेको छ।
दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा मछिन्द्रले खेलमा ३-१ गोलको अग्रता बनाएको छ।
खेलमा अग्रता पारोले लिएको थियो। सातौं मिनेटमा पारोका होम्बाको प्रहार रोक्ने क्रममा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठलाई लागेर गोल भएको थियो।
त्यसपछि मछिन्द्रले तीन गोल गर्न सफल भयो। खेलको १२औं मिनेटमा विमल घर्तिमगरले मछिन्द्रका लागि बराबरी गोल गरे। उनले आयुष घलानको पासमा गोल गरेका थिए।
आयुषले १५ मिनेटमा गोल गर्दा मछिन्द्रले २-१ गोलको अग्रता लियो।
मछिन्द्रका लागि ओलावाले अफिजले खेलको ३९ मिनेटमा तेस्रो गोल गरे। आयुषले दिएको सटिक पासमा ओमोलाजाको क्रसमा उनले हेडमार्फत गोल गरका थिए।
खेलको विजेताले दोस्रो चरणको प्लेअफमा एक सातापछि (१६ अगस्ट) भारतको मोहन बगानसँग खेल्नेछ।
दोस्रो चरणको दुई विजेताबीच (२२ अगस्ट) प्लेअफ हुनेछ। प्लेअफ विजेता एएफसी कपको दक्षिण एसियाको समूह चरणमा पुग्नेछ।
दक्षिण एसियाको समूह चरणमा यसअघि नै भारतको ओडिसा, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया पुगिसकेका छन्।