इंग्लिस क्लब टोटेनहमले नेदरल्यान्ड्सका यू-२१ डिफेन्डर मिकी भान डे भेन र अर्जेन्टिनाका यू-२० फरवार्ड अलेजो भेलिजलाई भित्र्याएको छ।
टोटेनहमले वुल्फ्सबर्गबाट २२ वर्षीय भान डे भेनलाई र १९ वर्षीय भेलिजले रोसारियो सेन्ट्रलबाट भित्र्याएको हो।
दुवै खेलाडीले क्लबसँग ६ वर्षको सम्झौता गरेका छन् ।
इङ्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसन, इटालियन गोलकिपर गुग्लिएल्मो भिकारियो र इजरायलका विङ्गर मानोर सोलोमनको आगमनपछि टोटेनहमले चौथो र पाँचौं हस्ताक्षर गरेको हो।
भान डे भेनले युरोपियन च्याम्पियनसिपमा नेदरल्यान्ड्स यू-२१ टिमको कप्तानी गरेका थिए। उनले गत सिजन ३३ बुन्डेसलिगाका खेल खेलेका थिए।
भेलिज २०२९ मा रोजारियो सेन्ट्रलमा सामेल भएका थिए भने जुलाई २०२१ मा पहिलो टिममा डेब्यू गरे।
उनले अर्जेन्टिनी टिमका लागि सबै प्रतियोगितामा ६२ खेल खेलेका छन्, जहाँ उनले १९ गोल गरेका छन्।
भेलिजले यू-२० स्तरमा अर्जेन्टिनाका लागि नौ क्याप जितेका छन् र २०२३ को यू-२० विश्वकप र दक्षिण अमेरिकी यू-२० च्याम्पियनसिपमा गरी तीन गोल गरेका थिए।
टोटेनहमले आइतबार सिजनको पहिलो प्रिमियर लिग खेलमा ब्रेन्टफोर्डसँग खेल्दैछ।