एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ ।
बुढानिलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रबार भएको फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
चेल्सीका स्ट्राइकर आदित्य शाहले फाइनलको एकमात्र गोल गरे । उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै चेल्सीलाई ट्रफी दिलाएका हुन् । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रम्हकुञ्जलाई १–० ले परािजत गर्यो ।
सेमिफाइनलमा चेल्सीले ब्रम्हकुञ्जलाई २–१ र मनकामनाले रिब्सलाई ४–० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा चेल्सीले जोसेफ हाईस्कुललाई २–०, मनकामनाले वेदव्यासलाई ३–०, रिब्सले लिभिङ वर्डलाई २–१ र ब्रम्हकुञ्जले माउन्ट ग्लोरीलाई गोलरहति बराबरीपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
संघीय सांसद एवम् पूर्वमन्त्री गगनकुमार थापा, एनएमबी बैंकका सीईओ (प्रमुख कार्यकारी अधिकृत) सुनिल केसी, डेपुटी सीईओ सुदेश उपाध्याय, भायनेटका चेयरमेन विनय बोहरा, गैरआवासीय नेपाल संघ (एनआरएनए) का सीईओ राजेन्द्र राउत, आयोजक कपअन स्पोर्ट्स सेन्टरका सीईओ एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, एन्फका कार्यसमिति सदस्यद्वय मनिष जोशी, रवीन्द्र चन्द, प्रवक्ता सुरेश शाह, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, गोलकिपर एवम् मछिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठले ट्रफी, मेडल, प्रमाणपत्र, जर्सी सेटलगायत पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडीको अवार्ड चेल्सीका आदित्य शाहले हात पारे ।
चेल्सीकै आयुष यादवले बेट गोलकिपर र नकआउट चरणमा चार गोल गरेका मनकामनाका अनिष दंगालले हाईएस्ट स्कोररको अवार्ड प्राप्त गरे । फेयर–प्ले टिम हाईली क्रिएटिभ स्कुल घोषित भयो । लिग कम नकआउटको आधारमा आयोजित तीन दिने प्रतियोगितामा २९ स्कुलका ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।