चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई कीर्तिमानी ११५ मिलियन पाउण्डमा अनुबन्धन गर्न सम्झौता गरेको छ।
इक्वेइडरका २१ वर्षीय खेलाडीलाई लिभरपुलले शुक्रबार १११ मिलियन पाउण्डमा सम्झौता गर्ने आफ्नो प्रयास अन्तिम चरणमा पुर्याएको थियो।
तर काइसेडोको पहिलो प्राथमिकता चेल्सी थियो। त्यसैले काइसाडो चेल्सीमा जान राजी भए।
गत जनावरीमा चेल्सीले अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजलाई १०८ मिलियन पाउन्डमा सम्झौता गरेको थियो। सो सम्झौता रकम बेलायतको सर्वाधिक थियो। सोहि रेकर्ड चेल्सीले काइसेडोलाई भित्र्याएर तोडेको छ।
काइसेडोको मेडिकल हुन बाँकी छ।
काइसेडो इक्वेडोरको इन्डिपेन्डिएन्ट डेल भालेबाट फेब्रुअरी २०२१ मा ४ मिलियन पाउण्डमा ब्राइटनमा आबद्ध भएका थिए।
एक्सेल डिसासी, क्रिस्टोफर एनकुन्कु, निकोलस ज्याक्सन, लेस्ली उगोचुकु, एन्जेलो गेब्रियल, रोबर्ट सान्चेज र डिएगो मोइरापछि काइसेडो चेल्सीमा आबद्ध भएका सिजनका आठौं खेलाडी हुन्।
नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोलाई गत सिजन खराब प्रदर्शन गरेको चेल्सीको टिममा व्यापक सुधार गर्ने जिम्मेवारी दिइएको छ।
माटेओ कोभासिक, एडुअर्ड मेन्डी, कालिडो कोउलिबाली, एन'गोलो कान्टे, मेसन माउन्ट, काई हाभर्ट्ज, क्रिस्चियन पुलिसिक, रुबेन लोफ्टस, एथान एम्पाडु, पियरे एमरिक-अउबामेयाङ, अब्दुल रहमान बाबा र पूर्व कप्तान सेजर एजपिलिकुएटाले यो सिजन चेल्सी छाडेका थिए।
चेल्सीले आइतबार लिभरपुलसँग १–१ को बराबरी खेल्दै प्रिमियर लिगको सिजनको सुरुवात गरेको छ।