फ्रेञ्च क्लब पिएसजीका फरवार्ड केलियन एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा फर्केका छन्।
२४ वर्षीय फ्रेञ्च फरवार्ड पछिल्लो समय पहिलो टोलीसँग प्रशिक्षण गरिरहेका थिएनन्।
शनिबार पिएसजी सिजनको पहिलो खेलमा लोरिएन्टसँग गोलरहित बराबरीमा रोकिनुअघि उनी टिममा समावेश थिएनन्।
उनी रियल म्याड्रिडमा आबद्ध हुने चाहनाको बीचमा विवादमा परेका थिए। अब उनले पिएसजीमा आफ्नो सम्झौता लम्ब्याउन सक्नेछन्।
पिएसजीले ‘धेरै रचनात्मक र सकारात्मक’ वार्तापछि एमबाप्पेलाई टिममा फर्काएको बताएको छ ।
फ्रान्स राष्ट्रिय टिमका कप्तान एमबाप्पेले शनिबार बार्सिलोनाबाट ४३.५ मिलियन पाउण्डमा पिएसजीमा आएका फ्रान्सका सहयात्री ओस्मान डेम्बेलेसँगै बसेर खेल हेरेका थिए।
यसअघि एमबाप्पे एसियाको प्रि-सिजन भ्रमणमा टिम बाहिर थिए।
एमबाप्पेको हालको सम्झौतामा एक वर्ष बाँकी छ र नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।